काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा दुई जना गम्भीर घाइते भएका छन्।
घाइतेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुब खड्का, सुमन खड्का, पुर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्याम कृष्ण श्रेष्ठ, रविन्द्र कार्की काशीलाल श्रेष्ठ, परशुराम थापा छन् । तीमध्ये जयराज, राजकाजी, रेनु र श्यामलाई बढी चोट लागेको छ ।
विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा सुवास आचार्यले बताए। उनका अनुसार अस्पताल पुर्याइएका ८ जनामध्ये २ जनामा गम्भीर चोट देखिएको छ। त्यसमध्ये एक जनाको रक्तनली फुटेका कारण शल्यक्रियाका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ। अन्यको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट भएको थियो। सो घटनामा थापासहित ८ जना घाइते भएका छन्।