काठमाडौं– भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र दुई नर्समाथि आक्रमण गरेका छन्।
आफू र छोरालाई विष पिलाइएको बताउने ती बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। सोमबार साँझ ६ बजे अस्पतालमा यस्तो घटना भएको हो।
अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। डा त्रिपाठीले भने, ‘हामीले उहाँको चेकअप गर्ने तयारी गर्दै थियौं। एक्कासी नजिकै रहेको चक्कुले मलाई प्रहार गर्नुभयो, तर उहाँको पछि रहेका व्यक्तिले तानेपछि म जोगिएँ।’
डा त्रिपाठीका अनुसार त्यसपछि उनले नजिकै रहेकी नर्सको घाँटी थिचेका थिए। अरुले उनलाई तानेर नर्सलाई जोगाएको डा त्रिपाठी बताउँछन्।
डाक्टर र नर्समाथि आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही नभएको भन्दै घर लगेका छन्।