काठमाडौं– सोमबार कोरिया–नेपाल मैत्री अस्पतालमा डाक्टर र नर्सलाई आक्रमण गर्ने व्यक्ति मानसिक रोगी भएको बुझिएको छ। आक्रमणपछि ती व्यक्तिलाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको थियो।
ती व्यक्तिको मानसिक सन्तुलन ठिक नरहेको पाइएपछि आफन्तलाई जिम्मा लगाएर मानसिक अस्पताल पठाइएको वृत्तका इन्चार्ज डिएसपी प्रज्वल महर्जनले बताए।
भक्तपुर ठिमीकै स्थानीय बासिन्दा उनी आफू र आफ्नो छोरालाई विष पिलाइएको भन्दै उपचारका लागि अस्पताल पुगेका थिए। अस्पतालमा डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा उनले आक्रमण गरेका हुन्।
उनले इमर्जेन्सीमा रहेका मेडिकल अफिसर डा सञ्जय त्रिपाठीमाथि चक्कु लिएर आक्रमण गरेका थिए। अस्पतालमा रहेका अन्य मानिसले उनलाई समातेर चक्कु फ्याँकिदिएका थिए। उक्त घटनाको भिडियोमा चिच्याउँदै गरेका देखिने उनले डाक्टरलाई आक्रमण गरेपछि दुई जना नर्सको घाँटी थिचेर हातपात गरेका थिए।