काठमाडौं– उच्च रक्तचापबाट जोगाउन महिला स्वास्थ्य स्वयंसेविकाले भूमिका खेल्न सक्ने एक अनुसन्धानमा देखिएको छ । विश्व प्रसिद्ध जर्नल द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित अनुसन्धान अनुसार नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरुले उच्च रक्तचापजन्य रोगहरुबाट वचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको हो।
उच्च रक्तचापको रोकथाममा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका विषयको उक्त अनुसन्धान नेपाल, अस्ट्रेलिया, अमेरिका र डेनमार्कका अनुसन्धानकर्ताहरु सम्मिलित विज्ञहरुको समूहले गरेको हो । नेपालको साविकको लेखनाथ नगरपालिकामा अनुसन्धान भएको हो।
अनुसन्धान दिनेश न्यौपाने, क्रेग एस मक्लान, शिवराज मिश्र, मिचेल हेच्ट वलसेन, हेन्री पी पेर्री, अर्जुन कार्की र पेल कलेस्ट्रपले अनुसन्धान गरेका हुन्।
वर्षेनी विश्वमा करिब १ करोड मानिसहरुको मृत्यु उच्च रक्तचापको कारणले हुने गर्दछ । यी मध्ये ८५ प्रतिशत मृत्यु कम तथा अल्प विकसित राष्ट्रहरुमा हुने गर्दछ । नेपालमा चार मध्ये एक वयष्क व्यक्तिलाई उच्च रक्तचापको समस्या छ र ती मध्ये आधालाई आफूमा उच्च रक्तचाप भएको थाहा पनि छैन।
उच्च रक्तचापजन्य रोगको कारण नेपालमा प्रत्येक घण्टामा कम्तिमा ४ जनाले ज्यान गुमाउनु परिरहेको अनुसन्धानमा उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेविका जस्ता सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुले नेपाल जस्ता कम तथा अल्पविकसित राष्ट्रहरुमा मातृ तथा शिशु स्वास्थ्य सुधारमा उल्लेख्य भुमिका खेलेता पनि उनिहरुले उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुमा त्यस्तो प्रभावकारी नतिजा देखिने गरि काम गर्न सक्छन् कि सक्दैनन् भनेर यो अध्ययन अगाडि कुनै अनुसन्धानहरु प्रकाशित भएका थिएनन्।
यो अनुसन्धानले महिला स्वास्थ्य स्वयंसेविकाहरुले रक्तचापको मापन गर्न सक्ने, स्वस्थ जीवनशैलि अपनाउने बारेमा प्रभावकारिरुपमा परामर्श दिन सक्ने र त्यसको प्रभावले गर्दा रक्तचाप घट्ने देखाएको छ । अनुसन्धानमा ४३ जना महिला स्वास्थ्य स्वयंसेविकाले करिब १ हजार घरधुरीमा वर्षको तीनपटक घरमै भेटेर रक्तचापको मापन, स्वस्थ्व 18को लागि परामर्श, उच्च रक्तचाप भएकाहरुको प्रेषण र औषधी नियमित सेवन गर्नको लागि उत्प्रेरित गरेका थिए । यो भन्दा अगाडि भएका अनुसन्धानहरुले थोरै मात्र रक्तचाप घट्दा पनि धेरै फाइदा हुने देखाएका छन्। जस्तो ५ मिलिमिटर मर्करी सिस्टोलिक रक्तचाप मात्र घटाउनेहो भने पनि ६ जनामा १ जना मष्तिस्कघात तथा १० जनामा १ जना लाई मुटुजन्यरोगवाट वचाउन सकिने बताइएको छ । यो अनुसन्धानको नतिजा नेपाल लगायत सामुदायिक स्वास्थ्य कार्यकर्ताको बलियो सञ्जाल भएका देशहरुको लागि निकै लाभदायक हुने देखिन्छ । धेरै कम तथा अल्पविकसित देशहरुमा सशक्त सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु रहेका छन्।
नेपालमा मात्र ५० हजार भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन्। यदि एक जना स्वयंसेविकाले एउटा मात्र उच्च रक्तचापको कारणले हुने मुटुजन्यरोग रोग रोकथाम गर्ने हो भने पनि हामी सजिलै ५० हजार जनाको जीवन बचाउन सक्ने उक्त अनुसन्धानमा उल्लेख छ । यसले औषधी र शल्यचिकित्सामा खर्च हुने करोडाैं रकमको पनि वचत हुने अनुसन्धानकर्ताले जनाएका छन्। यो अनुसन्धान नेपालमै गरिएको हुनाले सोही मोडल अनुरुप नेपालका अन्य ठाउँहरुमा तुरुन्तै अनशुसरण गर्न सकिने बताइएको छ ।