कालिकोट – जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टर मार्फत् काठमाडौं लगिएको छ।
सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलीले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो,’ उनले भने,‘रक्तश्राव अत्याधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको छ।’
शाहीको अवस्था गम्भीर भएपनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलीले बताए । ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माईए हो ।’ उनले भने,‘पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चाटर गरेर रिफर गरिए हो।’
जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र एक जना गाडीबाट गरी ४ जना रिफर गरिए जिल्ला अस्पताल कालिकोट जनाएको छ । जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।