कालीकोट- कालीकोटमा व्यवसायीको दबाबमा डाक्टरको लापरबाहीका कारण सुत्केरी चन्दा शाहको ज्यान गएको आरोप लगाउँदै छ बुँदे सहमति गराइएको छ।
कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा छबुँदे सहमति भएको हो ।
कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला अस्पताल कालीकोटका प्रमुख कौशल अलि, खांडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, राजनीतिक दलका प्रमुख र पीडित पक्षका आफन्तसँगको छलफल भएको छ।
उक्त छलफलबाट जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, शल्यक्रियामा संलग्न डाक्टर कौशल अलि र महेश्वर गोसाइलाई छानबिन र उपचारमा प्रयोग भएका सामग्रीलाई उचित अनुसन्धान गर्ने, सो घटनाको केन्द्रीयस्तरमा छानबिनका लागि समिति गठन गर्ने, जिल्ला अस्पताल कालीकोटमा दक्ष जनशक्ति र साधन स्रोतका लागि विशेष व्यवस्थाका लागि पहल गर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए।
कालीकोट जिल्लामा यस अघिका डाक्टर सुमन ढकालबाहेक अन्य प्रमुखले उपचारमा ध्यान नदिएका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको अरोप लगाइएको छ।
अहिलेका कार्यालय प्रमुख डा कौशल अलिले साधन स्रोतको प्रयोग उचित किसिमले नगरेर बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । मृतक चन्द्रा शाहको मृत्यु जिल्लामा भएको तर डाक्टरले आफूहरु निर्दोष सावित हुनका लागि मात्र जीवित नै रहेको बताएका आफन्तको आरोप छ। हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्ज अस्पतालमा नपुग्दै चन्द्रा शाहको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।
यसअघि जिल्लामा पाँचजना महिला सुत्केरीका लागि उपचारमा आउँदा जिल्ला अस्पताल कालीकोटमा उचित ढंगले उपचार नभएका कारण मृत्यु भएको आरोप छ। रासस