काठमाडौं– सरकारले बालबालिकाको पोषण र महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन आज ५ बर्से बहुक्षेत्रीय पोषण योजना सार्वजनिक गर्दैछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१८ देखि २०२२ सम्मका लागि तयार पारिएको महत्वकांक्षी योजनासहितको ‘बहुक्षेत्रीय पोषण योजना–२’ सार्वजनिक गर्न लागेका हुन्। उक्त योजना अनुसार आगामी ५ वर्षभित्र ५ वर्षमुनिका बालकालिकाको पुड्कोपनलाई २८ प्रतिशतमा झार्ने लक्ष्य छ। हाल नेपालका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ।
राष्ट्रिय योजना आयोगको अगुवाइमा तयार पारिएको उक्त योजनामा उचाइ अनुसार कम तौल भएका बच्चाको अवस्था १० बाट ७ प्रतिशतमा झार्ने, जन्मँदा कम तौल हुने बच्चाको प्रतिशतलाई २४ प्रतिशतबाट १० प्रतिशतमा झार्ने, ५ वर्षमुनिका बालबालिकाको अधिक तौललाई २ दशमलव १ प्रतिशतबाट १ दशमलव ४ प्रतिशतमा, दीर्घ रुपमा कमजोर अवस्थामा रहेका प्रजनन उमेरका महिलाको अवस्था २२ प्रतिशतबाट १८ मा झार्ने जस्ता लक्ष्य राखिएको छ।
करिब ४२ अर्ब २८ करोड रुपैयाँको यो योजना देशका सबै स्थानीय तहमा विस्तार गरिनेछ। यसअघिको ‘बहुक्षेत्रीय पोषण योजना पहिलो’ भने देशका २८ जिल्लामा मात्र लागू भएको थियो। पहिलो बहुक्षेत्रीय पोषण योजना सन् २०१३ जनवारीदेखि २०१७ सम्म लागू भएको थियो।
कुपोषणको अवस्थामा सुधार गर्न सकियो भने एक तिहाई बालमृत्युदर रोक्न सकिने र कुल गार्हस्थ उत्पादनमा चुकाउनुपरेको झन्डै ४० अर्ब रोक्न सकिने भन्दै सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालनमा ल्याएको हो।
नेपालमा मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन सरकारले त्यतिबेला वृहत् छलफल गरी ‘कुपोषणको लडाइँ समूहिक रुपमा लड्ने’ भन्दै योजना बाहिर ल्याएको हो। पहिलो योजना सकिएको ५ वर्षको अवधिमा पोषण अवस्थाका केही सुधार आएको छ भने बालमृत्युदरमा उल्लेख्य सुधार देखिएको छ।
बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएपछि के–कस्ता सुधार भए भन्ने विषयमा छुट्टै अध्ययन नभए पनि स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०१६ मा पोषणका क्षेत्र र बालमृत्युदरमा सुधार आएको पाइएको छ। सर्भेक्षण अनुसार सन् २०११ मा ४१ प्रतिशत बालबालिका पुड्का रहेकोमा यो दर ५ अंकले घटेको छ। त्यसैगरी, २९ प्रतिशत बालबालिका कम तौलका भएकोमा अहिले २७ प्रतिशतमा झरेको छ भने शीघ्र कुपोषण (उचाइ अनुसार कम तौल) भएका बालबालिकाको प्रतिशत १ अंकले घटेको छ।
सर्भेक्षण अनुसार जन्मेको २८ दिनभित्रका शिशुको मृत्युदरमा पनि उल्लेख्य सुधार आएको छ। सन् २०११ मा प्रति १ हजार जिवित जन्ममा ३३ रहेको नवजात शिशु मृत्युदर अहिले घटेर २१ मा आएको छ।
नवजात शिशुको मृत्युदर सन् २००६ देखि नै स्थिर थियो। सन् २००६ को सर्भेक्षणमा ३३ मा रहेको नवजात शिशु मृत्युदर सन् २०११ मा पनि ३३ मै थियो । सर्भेक्षणले एक वर्ष नपुग्दै हुने बालबालिकाको मृत्यु पनि उल्लेख्य रुपमा घटेको देखाएको छ। सन् २०११ मा प्रति १ हजार जिवित जन्ममा ४६ रहेको यस्तो मृत्युदर अहिले ३२ मा झरेको छन्।