काठमाडौं– इशान बाल तथा महिला अस्पताल बसुन्धाराले बिरामी कुरुवा बसेको पनि शुल्क असुलेको भेटिएको छ। एनआइसियूका बिरामीका कुरुवा बस्ने कोठाबाट प्रतिव्यक्ति ४ सय ५० रुपैयाँ असुल्ने गरेको भेटिएको हो।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका दीपकराज पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीले अघोषित रुपमा उक्त रकम असुलेको भेटेको हो। पोखरेलले भने, ‘बिरामीका कुरुवाबाट उक्त रकम असुल्ने गरे पनि बिल भने नदिने गरेको भेटियो।’
अनुगमन टोलीले यसबारे अस्पताल प्रशासनसँग स्पष्टीकरण सोधेको थियो। अस्पतालले लिने कर र सेवा शुल्कका विषयमा पनि टोलीले अनुगमन गरेको थियो। यसमा ५ प्रतिशत स्वास्थ्य सेवा कर मात्रै लिने गरेको भेटिएको पोखरेलले बताए।