काठमाडौं– ओम हस्पिटलले ‘सहयोगी हात बढाऔं, जीवन बचाऔं’ सहयोग कार्यक्रममार्फत उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
हस्पिटलमा विहिवार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजाल र हस्पिटलका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्लले भण्डारीका बुबा कृष्ण भण्डारीलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन्।
हस्पिटल संचालकहरु, चिकित्सक तथा कर्मचारीहरुको सहयोगमा संकलित रकम कमजोर आर्थिक अवस्था भएका भण्डारीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजाल, ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्ल, हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्की, चिकित्सकद्धय डाक्टर हरिकिशोर श्रेष्ठ, डाक्टर उज्वल चालिसे, कर्मचारी यूनियनका अध्यक्ष केशव चौलागाई लगायतले सामाजिक उत्तरदायित्व बोध गर्दै ब्लड क्यान्सर पीडित भण्डारीलाई सहयोग गरिएको बताएका छन्।
आगामी दिनमा पनि यस्तो सामाजिक कामलाई निरन्तरता दिइने उनीहरुले बताएका छन्। क्रिस्टिनाका बुबा कृष्ण भण्डारीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए। भण्डारीलाई यसअघि पनि ओम हस्पिटल कर्मचारी यूनियनको तर्फबाट २५ हजार ५ सय तथा केमोथेरापी यूनिटको तर्फबाट ३० हजार रुपैया उपलब्ध गराइएको कार्यक्रममा जानकारी गराइयो।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ भई हाल काठमाडौ मैजुबहाल बस्ने भण्डारी, कृष्ण भण्डारी र प्रकृति भण्डारीकी एक्ली सन्तान हुन् । न्यू इङलिस स्कुलमा कक्षा ४ मा अध्ययनरत साढे ९ वर्षीया भण्डारीलाई एक वर्षसम्म नियमित केमोथेरापी चलाइएकोमा अब हेमाटोपोइटिक स्टिम सेल ट्रान्सप्लानटेशन मार्फत् मात्र उनको उपचार सम्भव रहेको चिकित्सकहरुले बताएका छन्।