काठमाडौं– सम्यक डाइग्नोस्टिकले व्यावसायिक र गैरव्यावसायिक खेलाडीलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण सुरु गरेको छ।
सम्यकले खेलाडीको शरीरभित्र उत्पन्न हुने विभिन्न हर्मोनको मात्राको परीक्षण गर्ने रक्त परीक्षण र हड्डी मजबुतीको अवस्था पत्ता लगाउने परीक्षण सुरु गरेको हो।
'एथलेट ब्लड टेस्ट' प्याकेज दिइएको रक्त परीक्षणबाट खेलाडीको समग्र शारीरिक अवस्था पत्ता लगाउन सकिने सम्यकका कार्यकारी प्रमुख डा केयुर गौतमले जानकारी दिए।
यस्तै, हड्डीको खास अवस्था जाँच गरेर यसको मजबुती थाहा पाउन सकिने 'बोन मिनरल डेन्सिटोमेट्रिक' (बिएमडी) परीक्षण पनि सम्यकले सुरु गरेको छ। यो परीक्षणबाट हड्डी भाँच्चिने वा खोक्रो हुने लगायतका सम्भावना सजिलै थाहा पाउन सकिने डा गौतमले बताए।
हड्डीको जाँचबाट खेलाडीको मनोबल वृद्धि भएर खेल कौशल उत्कृष्ट बनाउन मद्दत पुग्ने उनले बताए।
हड्डीको अवस्था थाहा पाउने परीक्षण खेलाडीका साथै ज्येष्ठ नागरिक, महिनावारी सुकेका महिला, दुब्ला मानिस र साकाहारीहरुका लागि पनि उपयोगी हुने जनाइएको छ। यो परीक्षण एक हजार रुपैयाँमा गर्न सकिने सम्यकले जनाएको छ।
यी दुवै सेवाको आफ्नो परीक्षणबाट उद्घाटन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लले शरीरभित्रको वास्तविक अवस्था थाहा पाउन यस्तो परीक्षण आवश्यक रहेको बताएका थिए।