जेनेभा– 11 संगठन (डब्लुएचओ)ले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे ६ लाख मानिसको स्वासप्रस्वासजन्य रोगबाट मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ।
मौसमी इन्फ्लुएन्जाका कारण स्वासप्रस्वाजन्य रोगको प्रकोप बढ्ने गरेको र यस्ता रोगबाट बर्सेनि ठूलो संख्याका मानिसको ज्यान जाने गरेको प्रतिवेदनमा जनाइएको छ।
यस्तो इन्फ्लुयन्जा बर्सेनि कैयौँ देशमा महामारीका रुपमा देखापर्ने र यसका कारण धेरै मानिसमा संक्रमण हुने गरेको जनाइएको छ।
यस्ता संक्रमणबाट विशेषगरी कम आय भएका एवं स्वास्थ्य सेवामा पहुँच नपुगेका मुलुकहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ।
यसरी इन्फ्लुएन्जाबाट संक्रमित हुनेमा मुटुसम्बन्धी समस्या पनि देखा पर्ने गरेको तथ्य भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वातावरणीय प्रदुषण, फोहोर, शुद्ध खानेपानीको अभावजस्ता समस्या बढी हुने कारणले ती देशका नागरिक स्वासप्रस्वासजन्य समस्याबाट बढी पीडित हुने गरेको पाइएको छ।
विशेषतः ५ वर्षमुनिका बालबालिकामा निमोनिया, बाथ र मुटु रोगहरु देखापर्ने गरेको पाइएको उक्त प्रतिवेदनमा औंल्याइएको छ।
डब्लुएचओले यो अवस्था अत्यन्तै दुःखद भएको भन्दै यस्ता समस्या समाधानका लागि विश्वका सबै देश आ–आफ्नो तवरबाट लाग्नुपर्नेमा जोड दिएको छ।