काठमाडौं - अस्पतालको आकस्मिक कक्षमा चौबिसै घण्टा डाक्टरको उपस्थिति हुनुपर्छ। तर, नेपालकै सबैभन्दा जेठो र गरिब नेपालीहरु जाने वीर अस्पतालको आकस्मिक कक्ष १२ घण्टासम्म डाक्टरविहीन बन्यो।
ड्युटीमा रहेका डाक्टर र अस्पताल प्रशासनको लापरवाहीका कारण आकस्मिक कक्ष शनिबार राति नौबजेदेखि आइतबार बिहान ९ बजेसम्म डाक्टरविहीन बनेको हो। दुईजना स्वास्थ्यकर्मीमात्र भएपछि राति ल्याइएका ७५ भन्दा बढी बिरामी अर्कै अस्पतालमा जान बाध्य भए। आकस्मिक कक्षमा ल्याइएका केही बिरामी त सिकिस्त अवस्थामा थिए।
‘यो सरासर अस्पताल प्रशासनको लापरवाही हो। बिरामीलाई मर् भनेर नै बेवास्ता गरिएको हो।’ एक भुक्तभोगीले भने, ‘प्वाइजन खाएर आएका दुई बिरामीलाई समेत चिकित्सक नभएपछि अन्यत्र पठाइयो। लापरवाहीको हदै भयो नि।’ शनिबार राति आकस्मिक कक्षमा चार डाक्टरको ड्युटी थियो।
तीमध्ये सेवाअवधि सकिएकालाई दुईजनालाई समेत ड्युटीमा राखिएको थियो। बाँकी दुई जना पनि लापरवाहीपूर्ण रुपमा अनुपस्थित रहे। भोलिन्टियर डाक्टर सन्दीपकुमार कर्ण अस्पताल प्रशासनलाई जानकारी नदिई अनुपस्थित भए भने अस्पताल प्रांगणसम्म आइपुगेकी डा. दिविका खड्का आकस्मिक कक्षको गेटबाटै फर्किइन्। डा. खड्का ‘एक्लै ड्युटी गर्न सक्दिनँ’ भन्दै गेटबाटै फर्किएको आकस्मिक विभाग प्रमुख डा. न्हुच्छेमान डंगोलले बताए। खड्का करार चिकित्सक हुन्।
डा. खड्काले भने एक्लै १२ घण्टा ड्युटी गर्न नसक्ने भएकाले फर्किएको स्वीकार गरिन्। ‘एक्लै काम गर्न सक्ने अवस्था रहँदैंन, त्यही भएर म फर्किएकी हुँ’ उनले भनिन्। जनशक्ति कम हुँदा सेवामा पनि सम्झौता हुने गरेको उनको भनाई छ। आकस्मिक कक्षमा कार्यरत भोलिन्टिएर चिकित्सकहरु ‘आफ्नै मर्जीका राजा’ हुने गरेको आकस्मिक विभागका पुर्व प्रमुख डा. ध्रुवप्रसाद सिंह बताउँछन्। ‘भोलिन्टिएर डाक्टरहरु मन लागे अस्पताल आउँछन्, मन नलागे आउँदैनन्’ उनले भने।
शहरको केन्द्रमा रहेका कारण वीर अस्पतालको इमर्जेन्सीमा अन्य अस्पतालमा भन्दा बढी भीड हुनेगर्छ। तर, त्यही इमर्जेन्सी ११ वर्षदेखि स्वयम्सेवकका भरमा चलेको तथ्य खुलेको छ। इमर्जेन्सी विभागका पूर्व प्रमुख डा. सिंहले आकस्मिकमा मेडिसिनका रेजिडेन्ट ड्युटीमा हुनुपर्ने भएपनि उनीहरु नआउने गर्दा समस्या बल्झिने गरेको छ। आकस्मिक कक्षमा १६ जना मेडिकल अफिसरको दरवन्दी रहेपनि ६ जना मात्र करारमा कार्यरत छन्।
चार महिनादेखि आकस्मिक कक्षमा चिकित्सकको अभाव रहेको विभागीय प्रमुख डंगोलले बताए। ‘चिकित्सक अभावका कारण बिरामीको सेवा गर्न साह्रै समस्या भएको भनेर पटक पटक चिकित्सक नियुक्ति गर्न अस्पताल निर्देशकलाई आग्रह गर्दै आइरहेका छौँ’ उनले भने, ‘तर आजसम्म पनि उक्त कुरा सुनुवाई हुन नसक्दा अस्पतालको आकस्मिक कक्ष चिकित्सकविहीन बन्न पुग्यो।’
लाचार अस्पताल, अटेर न्याम्स
अस्पतालले रिक्त दरबन्दी पूर्तिका लागि पटक–पटक आग्रह गरेपनि न्याम्सले बेवास्ता गर्दै आएको छ। अस्पतालका निर्देशक डा. बुलन्द थापाले ६ जनाको रिक्त दरबन्दी पूर्तिका लागि पटक–पटक उपकुलपति र स्वास्थ्य मन्त्रालयलाई पत्र पठाई जनशक्ति पठाउन आग्रह गरेपनि सुनुवाईं हुन नसकेको बताउँछन्।
उपकुलपतिले पटक–पटकको आग्रह र पत्रलाई बेवास्ता गरेपछि डा. थापाले माघ २२ गते चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए। डा. थापाले इमरर्जेन्सी विभागलगायत अस्पतालका अन्य विभागमा चिकित्सकको अभावका कारण सेवा प्रभावित भएको भन्दै यथासिघ्र १८ जना चिकित्सकको व्यवस्था गर्न पत्र पठाएका थिए। (पत्र हेर्नुहोस्)

निर्देशक डा. थापाले आकस्मिक विभागमा ६ जना, न्युरो सर्जरी विभागमा ४ जना, न्यु आईसियुमा ४ जना, वर्न र प्लास्टिक सर्जरीमा १ जना, सिटिभिएसमा १ जना र सर्जरीमा २ जना गरी १८ जना मेडिकल अफिसर नियुक्ति गर्न मन्त्रालयमा पत्र पठाएका थिए। तर हालसम्म पनि सुनुवाई नभएकाले अस्पताल समस्यामा परेको डा. थापाले बताए।
‘अस्पतालमा नियुक्ति गर्न मेरो कुनै अधिकार छैन’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय र उपकुलपतिले टेर्दैनन्। यस्तो अवस्थामा कसरी सेवा दिन सकिन्छ ?’ उनले तत्काल चिकित्सकको दरबन्दी पूर्ति नगर्ने हो भने धेरै विभाग बन्द हुने अवस्थामा पुगेको पनि बताए। डा. थापाले जिम्मेवारी भव्य भएपनि अधिकार नभएका कारण मुकदर्शक भएर बस्न हुनुपरेको बताए। ‘कि न्याम्सले चिकित्सक खटाउनु प¥यो कि अस्पताललाई स्वायत्तता दिनुप¥यो’ निर्देशक थापाले भने।
ड्युटीमा नबस्नेलाई कारवाही हुन्छ : अस्पताल
शनिबार आकस्मिक विभागमा ड्युटीमा नबस्ने डाक्टरलाई कारवाही गर्ने अस्पतालले जनाएको छ। ‘इमर्जेन्सीमा डाक्टर छैन भनेर बिरामी फर्काउन पाइँदैन’ डा. थापाले भने, ‘सिनियरले ड्युटी गरेर वा डबल ड्युटी पारेर भएपनि सेवा दिनुपर्छ।’
तत्कालिन स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले न्याम्सका उपकुलपति डा. दामोदर पोखरेललाई वीर अस्पतालसम्बन्धि आर्थिक र प्रसासिनक अधिकार प्रत्यायोजन गरी निर्देशकलाई जिम्मेवारी दिन लिखित निर्देशन दिए पनि डा. पोखरेलले उक्त निर्देशन अटेरी गर्दै आएका छन्।
अस्पतालको विभागमा कार्यरत रजिष्टार चिकित्सकमा पनि भत्ता मात्र खाने तर काम नगर्ने प्रवृत्ति रहेको छ। अस्पतालका हरेक विभागमा रजिष्टार डाक्टर हुन्छन्। ‘रजिष्टार डाक्टरले काम गरेमा जुनियर डाक्टरले पनि खटेर काम गर्छन्।’ इमर्जेन्सी विभागका पूर्व प्रमुख डा. सिंहले भने। इमर्जेन्सीका हालका प्रमुख डा. न्हुच्छेमान डंगोलले सम्बन्धित विभागका चिकित्सकले आकस्मिक विभागका बिरामीलाई भर्ना नगरिदिँदा पनि बिरामी थुप्रिएर सेवा प्रभावित भैरहेको बताए। वीरको आकस्मिक कक्षमा दैनिक दुई सयदेखि २ सय ५० जना बिरामी आउने गर्दछन्।
