काठमाडौं– राजधानीमा आयोजित तीनदिने चिकित्सा विज्ञान तथा प्रयोगशाला सम्बन्धी दोस्रो बृहत् प्रदर्शनी सकिएको छ।
बिहीबारदेखि शनिबारसम्म चलेको प्रदर्शनीको ७ हजारभन्दा बढीले अवलोकन गरेका छन्। स्वास्थ्य क्षेत्रका व्यवसायी, स्वास्थ्यकर्मी तथा विद्यार्थीलाई लक्षित गरी आयोजित प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २ सय वटा स्टल राखिएको थियो। प्रदर्शनीमा भारत र चीनबाट १ सय ३० र नेपालबाट ७० स्टल राखिएका थिए।
एसडी प्रोमो मिडिया प्रालि भारतलेले केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपालसँगको सहकार्यमा काठमाडौंस्थित भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरेको हो।
एसडी प्रोमोका निर्देशक राजेशकुमार शर्माले चिकित्सा विज्ञान र प्रयोगशालाका विषयमा बृहत् जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको बताए।
‘यस्ता प्रदर्शनीले मेडिकल क्षेत्रका प्रविधि आदानप्रदानमा निकै ठूलो सहयोग गर्नेछ’, शर्माले भने, ‘प्रदर्शनीमा आएकाहरुको सहभागिता र उनीहरुको जिज्ञासाले हामीलाई थप उत्साहित बनाएको छ।’
प्रदर्शनीमा सर्जिकल सामग्री, उद्धार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेबल, अस्पतालका फर्निचरहरु, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक स्टल राखिएका थिए।
केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष सुरेश घिमिरेले मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र मेडिकल क्षेत्रका विद्यार्थीका लागि यो प्रदर्शनी लाभदायक भएको बताए। उनका अनुसार, प्रदर्शनीमा व्यावसायिक भेटघाट र छलफलका साथै विज्ञहरुले उपकरण सम्बन्धी जानकारीमूलक प्रस्तुति समेत गरेका थिए।
.jpg)