काठमाडौं– ह्याम्स हस्पिटल बुद्धनगरले अस्पतालभित्र सञ्चालन गरेको फार्मेसी अवैध भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा अस्पतालले फार्मेसी दर्ताको प्रमाण पत्र देखाउन सकेन ।
औषधि व्यवस्था विभागका प्रतिनीधि समेत रहेको अनुगमन टोलीले ह्याम्समा यो बाहेक मनोदिपक औषधिको रेकर्ड नभएको, बिल अपडेट नभएको र औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि (न्युट्रिसन सप्लिमेन्ट) बेच्ने गरेको पाइएको छ ।
औषधि व्यवस्था विभागकी प्रतिनिधि सरस्वती देवकोटाका अनुसार फार्मेसी दर्ताको प्रमाण पत्र सहित तीन दिन भित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनले भनिन्, ‘बिल अपडेट गराउन र मनोदिपक औषधि रेकर्ड राख्न र विभागमा दर्ता नभएका औषधि फिर्ता गर्न निर्देशन दिइएको छ ।’
आपूर्ति व्यवस्थापन विभागका रमेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले अस्पतालले गरिब, असाहय र अपांग बिरामीलाई दिनुपर्ने १० प्रतिशत निःशुल्क बेडको व्यवस्था समेत गरेको नपाएको बताएको छ ।
बिहीबार उक्त टोलीले अनुगमन गरेका दुई मध्य मोडेल अस्पतालमा पनि १० प्रतिशत निःशुल्क बेडको व्यवस्था नगरिएको उनले बताए । उनले भने, ‘बेड चार्ज कुन आधारमा तोकिएको हो र १० प्रतिशत निशुल्क बेड किन नराखिएको तीन दिन भित्र विभागमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएका छौं ।’