एजेन्सी – एउटा बेलायती परोपकारी संस्थाका अनुसार मधुमेहपीडितमध्ये करिब २५ प्रतिशत बिरामीले मिर्गौला परीक्षण गराउँदैनन् ।
तर मधुमेहका कारण मिर्गौलामा हुने हानि सुरुवातमा नै पत्ता लगाउन मिर्गौला परीक्षण गराउनु अत्यावश्यक हुन्छ ।
डाइबिटिज युकेका अनुसार सन् २०१०–११ को राष्ट्रिय मधुमेह अडिटका तथ्यांकले बेलायतमा करिब २५ प्रतिशत मधुमेहका बिरामीले पिसाबमा एल्बुमिन परीक्षण गराएका थिएनन् ।
त्यसबेला बेलायत र वेल्समा मधुमेहका कारण मिर्गौला फेल भएर उपचार गराउनेको संख्या १० हजारभन्दा पनि थोरै थियो ।
डाइबिटिज युकेका अनुसार यो तथ्यांक चिन्ताजनक छ । किनभने मधुमेहका बिरामीको मिर्गौला फेल हुनु सामान्य जस्तै मानिन्छ ।
सामान्य परीक्षण
एउटा अनुमान अनुसार करिब ३० लाख बेलायती मधुमेहका बिरामी छन् । तीमध्ये अधिकांश टाइप–२ मधुमेहका बिरामी छन् ।
भनिन्छ यसबाहेक पनि त्यहाँ करिब ८ लाख ५० हजार व्यक्ति टाइप–२ मधुमेहबाट पीडित भए पनि उनीहरूले आफू मधुमेह रोगी भएको थाहा पाएका छैनन् ।
केही यस्ता निश्चित परीक्षण छन्, जुन मधुमेहका बिरामीले बर्सेनि गराउनु पर्छ । यसो गरेमात्र मधुमेहका कारण आँखा र खुट्टामा लाग्ने रोगबारे समयमै थाहा पाउन सकिन्छ ।
त्यस्ता दुई परीक्षणमध्ये पिसाबको परीक्षण पहिलो हो, जसबाट मधुमेहको प्रकार पत्ता लाग्छ । रगत परीक्षणबाट पनि मिर्गौला कति स्वस्थ्य छ पत्ता लगाउन सकिन्छ ।
डाइबिटिज युकेका अनुसार धेरैजसो मानिस मधुमेहको परीक्षणका लागि रगत परीक्षण मात्र गराउँछन् । डाइबिटिज युके सबैलाई रगत मात्र नभएर बेला बेला पिसाबको पनि परीक्षण गराउन सुझाव दिन्छ ।
‘मधुमेहपीडित २५ प्रतिशत बेलायतीले मिर्गौला परीक्षण नगराउनु निकै चिन्ताजनक छ । सामान्य परीक्षण गराए उनीहरूको मिर्गौला बिग्रन सुरु हुनासाथ पत्ता लाग्छ र त्यसलाई यथास्थितिमै रोक्न सकिन्छ’, डाइबिटिज युकेकी मुख्य कार्यकारी अधिकृत बार्बरा यङ भन्छिन् ।
उनका अनुसार हुनसक्छ मधेमेहपीडितलाई मिर्गौला फेल हुनुभन्दा पनि दृष्टिविहीन हुनु वा अंगभंग हुनु ठूलो कुरा लाग्न सक्छ । उनी भन्छिन्, ‘तर ती सबैले जीवनयापनमा नकारात्मक असर पार्छन् ।’
उनले यति सामान्य परीक्षण पनि नगराउने बिरामीले नियमित डाइलाइसिस गराउनुपर्ने र अन्त्यमा ज्यानै गुमाउनुपर्ने जोखिम बढ्ने पनि बताइन् ।
उनी भन्छिन्, ‘बेलायतमा मिर्गौला फेल हुने बिरामीका कारण एनएचएस (नेसनल हेल्थ सर्भिस) को कुल बजेटको १० प्रतिशत मधुमेहको उपचारमा खर्च हुन्छ ।’