काठमाडौं- संघीय संरचनामा केन्द्रीय स्वास्थ्य मन्त्रालय र यस मातहतका कार्यालयहरुको खाका तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले उक्त संरचनाको खाका अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको छ।
संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने र मन्त्रालय अन्तर्गत ४ वटा महाशाखा र ४ वटा विभागको रहनेछन्। प्रस्तावित संरचना अनुसार मन्त्रालयमा नीति, योजना तथा समन्वय महाशाखा, अनुमगन, मूल्याकंन तथा नियमन महाशाखा, स्वास्थ्य सेवा तथा जनसंख्या व्यवस्थापन महाशाखा र प्रशासन महाशाखा राख्न प्रस्ताव गरिएको छ।
यस्तै, विभागको संख्या पनि ४ वटा राख्न प्रस्ताव गरिएको छ। हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा, आयुर्वेद र औषधि व्यवस्था विभाग गरी ३ वटा विभाग छन्। संघीय संरचनामा भने चिकित्सा सेवा विभाग, जनस्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग गरी ४ वटा विभागको प्रस्ताव गरिएको छ।
प्राधिकरण स्थापना हुने
प्रस्तावित संरचना अनुसार केन्द्रमा एक स्वास्थ्य संस्था प्रत्यायन प्राधिकरण समेत स्थापना हुनेछ। प्राधिकरणको काम अस्पताल एवं स्वास्थ्य संस्था प्रत्यायन, गुणस्तर सुनिश्चितता, सेवा तथा पूर्वाधारको मापदण्ड र नियमनको काम गर्नेछ।
यस्तै, स्वायत्त संस्थाका रुपमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु, सिंहदरबार वैद्यखाना विकास समिति, स्वास्थ्य व्यावसायिक परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल आयुर्वेद अनुसन्धान परिषद् रहनेछन्।
चिकित्सा सेवा विभाग अन्तर्गत 4
प्रस्तावित संरचना अनुसार चिकित्सा सेवा विभाग अन्तर्गत 4 महाशाखाको प्रस्ताव गरिएको छ। उक्त विभाग अन्तर्गत 4सहित अस्पताल व्यवस्थापन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पर्नेछन्।
जनस्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण, स्वास्थ्य सामग्री व्यवस्थापन तथा पूर्वाधार विकास र स्वास्थ्य मानव संसाधन विकास तथा स्वास्थ्य प्रवर्द्धन महाशाखा राख्न प्रस्ताव गरिएको छ।
यस्तै, औषधि व्यवस्था विभाग अन्तर्गत राष्ट्रिय औषधि प्रयोगशाला, व्यवस्थापन, निरीक्षण र औषधि दर्ता महाशाखा रहनेछ भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग अन्तर्गत योजना तथा अनुगमन शाखा र चिकित्सा तथा औषधि गुणस्तर शाखा रहनेछन्।




