लहान– पूर्व स्वास्थ्यमन्त्री एवं बिना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले क्यान्सर रोग नियन्त्रण गर्न नयाँ चेतना आवश्यक रहेको बताएका छन्।
नेपाल अर्बुद रोग निवारण संस्थाको २७औं केन्द्रीय सभालाई शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै पोखरेलले पुरानै शैली र परम्परागत ढंगले क्यान्सर रोग नियन्त्रण हुन नसक्ने बताएका हुन्।
उनले क्यान्सर रोग नियन्त्रणका लागि 18 सुधार, प्रदुषण नियन्त्रण र सुर्तीजन्य पदार्थको प्रयोगमा कडाइ गर्नुपर्नेमा जोड दिए।
सचेतना गोष्ठी गरेर मात्र क्यान्सर रोग नियन्त्रण नहुने बताउँदै मन्त्री पोखरेलले व्यावहारिक र सैद्धान्तिक पक्षलाई ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरे।
‘हामीले दैनिक प्रयोग गर्ने खाद्यान्न विषादियुक्त छ, अब जीवन ज्युने पद्दति पनि बदल्नुपर्छ’, पोखरेलले भने, ‘योग, ध्यान र आयुर्वेदसँग जोडिनुस् यसले क्यान्सर रोगबाट बचाउँछ।’
उनले सुर्तीजन्य पर्दाथको सेवनलाई रोक्न नसकिएको भन्दै अर्बुद रोग निवारण संस्थाको सन् २०२२ सम्म सुर्तीजन्य पर्दाथमुक्त नेपाल घोषणा अभियानलाई सार्थक बनाउन पनि आग्रह गरे।
उनले क्यान्सर रोग नियन्त्रणका लागि राज्य, निजी क्षेत्र र सामाजिक संघ-संस्थाको सहकार्य आवश्यक रहेको बताए।
लहानमा क्यान्सर हस्पिटल स्थापना गर्ने अर्बुद रोग निवारण संस्थाको अभियानमा आफ्नो तर्फबाट सहयोग हुने मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले बिहीबारदेखि सुरु भएको संस्थाको २७औं केन्द्रीय सभामा ४५ जिल्लाका प्रतिनिधि सहभागी भएको बताए। केन्द्रीय सभाले नयाँ नेतृत्व पनि चयन गर्ने सहकोषाध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए।