सिन्धुपाल्चोक– जिल्लाकै दुर्गम स्थान मानिने भोटेकोशी गाउँपालिका १, लिस्तीकोट, घिप्चेमा सामुदायिक स्वास्थ्य इकार्इ स्थापना गरिएको छ । जसका कारण सामान्य स्वास्थ्य उपचारका लागि पनि एक दिनको दूरी नाप्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि यहाँका बासिन्दाले दिनभर हिँडेर घुम्थाङ वा लिस्तीको स्वास्थ संस्था जानुपर्ने बाध्यता थियो।
भेटेकेशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मुके शेर्पाको अध्यक्ष्यता तथा जिल्ला जनस्वास्थ्य अधिकृत श्री रविकान्त मिश्रको प्रमुख अतिथ्यतामा एक कार्यक्रम आयोजना गरी विधिवत रूपमा सेवा शुरू गरिएको थियो । उक्त स्थानमा जिल्ला स्वास्थ्य कार्यालयबाट स्वाबाट रू १ लाख १० हजार तथा स्थानीय समुदायबाट त्यति नै योगदान गरी जम्मा दुर्इ लाख २० हजारको लागतमा २ कोठे खोप क्लिनिक भवन बनाइएको हो । सोही भवनबाट इकार्इको काम बढाइएको स्थानीय समाजसेवी तथा जग्गादाता भालुराम शेर्पाले खुशी प्रकट गरे ।
स्थानीय घिप्चे , वगाम, थगाम तथा घुम्थाङका समेत गरी करिव १ सय १० घर परिवारका ६ सय जना जति उक्त इकाइबाट लाभान्वित हुने लिस्तीकोटका पूर्व अध्यक्ष तथा समाजसेवी साङ्वु शेर्पाले बताए । भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक रेजिन्द्र सुवेदीलेसञ्चालन गरेको उक्त कार्यक्रममा जि. स्वा. का. का. कार्यक्रम अधिकृत, ज. स्वा. नि. केशव रिजालले सामुदायिक स्वास्थ्य इकार्इ सञ्चालन तथा व्यवस्थापन समिती पुनर्गठन गर्न सहजीकरण गर्नुका साथै जि. स्वा. का. का. का लेखा अधिकृत गोविन्द पैडेल, पूर्व अध्यक्ष साङ्वु शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए।