काठमाडौं- सडक दुर्घटनामा गम्भिर घाइते भएका जनस्वास्थ्य विज्ञ कौशलकुमार सिंहको निधन भएको छ । सिंहले चलाइरहेको मोटरसाइकललाई शुक्रबार साँझ बसले ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उनका ज्वाई डाक्टर राजदेव महतो पनि गम्भिर घाइते भएका थिए । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी आइसियुमा छन् । अस्पतालमै उपचाररत सिंहको भने मृत्यु भएको हो।
विराटनगरस्थित विराट मेडिकल कलेजमा कार्यरत ज्वाई महतोलाई एयरपोर्टबाट लिएर फर्कने क्रममा सिंहले चलाएको बा६३प ३५५४ नम्बरको मोटरसाइकललाई सिनामंगलमा बा२ख ४५३८ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटना लगत्तै घाइते सिंह र डा महतोलाई उपचारका लागि केएमसीमा लगिएको थियो।
दुर्घटना गराउने बसका चलाक प्रेम तामाङ प्रहरी हिरासतमै छन् ।
सिंह स्वास्थ्य मन्त्रालयका पूर्व कर्मचारी हुन् । उनले जिल्ला स्वास्थ्य प्रमुखका रुपमा समेत काम गरेका थिए । हाल उनी 11 संगठनको सहयोगमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखामा कार्यरत थिए । उनी त्यहाँ नसर्ने रोगसम्बिन्ध पेन प्याकेजमा कार्यरत रहेको महाशाखा प्रमुख भोगेन्द्र डोटेलले जानकारी दिए।
सिंहकी छोरी पनि विराट मेडिकल कलेजमै कार्यरत छिन् । सिंहका दुई छोरा भने बंगलादेशमा एमबिबिएस अध्ययनरत छन् । सिंहकी अर्की छोरी भने क्यानडामा छिन् । सिंहका आफन्तका अनुसार दुई छोरा बंगलादेशबाट फर्केपछि भोली बुधबार पशुपतिमा दाहसंस्कार गरिनेछ ।