काठमाडौं– नेपालको दुर्गम ठाँउमध्य कर्णालीका वासिन्दाहरुको स्वास्थ सेवामा एकदमै न्युन पहुँच छ । दुर्गम ठाउँ भएकाले स्वास्थ चौकीसम्म पुग्न पनि घन्टौं लाग्छ। कतिपयको त स्वास्थ्य संस्था लैजाँदा लैजाँदै ज्यान जाने गरेको छ । यी समस्याहरुलाई आफैं महशुस गरेका डा ठम्म वीरविक्रम शाहीले कालिकोटका १० ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
कालिकोट भर्ताको बलाचौर मावि, थाना, सुकाटिया, मुग्राहा, कुनि, ओदानकु, चिलखाया हुँदै जुबिथा र फोइमहादेवमा शिविर गरिएको छ । शिविरबाट २५ सय भन्दा धेरै लाभावान्दित भएको बताइएको छ ।
कर्णालीमै
पर्ने कालिकोटमा जन्मिेका हुन् डा शाही । पढाइ भने उनले ललितपुरस्थित लिटल एन्जलस स्कुलबाट एसएलसी र काठमाडौंमा रहेको सेन्ट जेभियरबाट आइएसी गरेका हुन् । धरानस्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एमबिबिएस गरेका उनी काठमाडौंकै एक अस्पतालमा उनी मेडिकल अफिसरका रुपमा कार्यरत छन् ।
तर, उनलाई कर्णालीको स्वास्थ्य सेवामा योगदान पुर्याउने चाहना छ । त्यसैले हालै मात्रै कालिकोट विभिन्न १० ठाउँमा स्वास्थ्य शिविर गरेका उनी अन्य जिल्लामा पनि यसैगरी सेवा पु¥याउन चाहन्छन् ।
शिविरका लागि औषधि र अन्य सहयोग उनी आफैंले खोजे । उनले व्यक्तिगत रुपमा केही खर्च जुटाए भने इञ्जिनियर तुल्सी, डा ईजन, डा जीवनारायण, डा जयन्त, डा निरज, सुनिल थापालगायतले उनलाई सहयोग गरेका थिए ।
कर्णालीबासीलाई स्वास्थ्य सेवाका पहुँचमा ल्याउन स्वास्थ्यचौकीको संख्या बढाउनुपर्ने, डाक्टर र स्वास्थ्यकर्मीलाई त्यहाँ काम गर्न उत्प्रेरित गर्ने कार्यक्रमहरु ल्याउने, त्यहाँ कार्यरतलाई धेरै समय त्यहीँ रहने वतावरण बनाउनुपर्ने उनले ठम्याएका छन् ।