गाईघाट, उदयपुर- जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने तीनजना सख्त घाइते भएका थिए ।
प्रशासनले घटनास्थलमा एम्बुलेन्स पठाएर जिल्ला अस्पतालमा घाइतेलाई उपचारका लागि ल्याउँदा अस्पतालमा डाक्टर तथा कर्मचारी नै नभएपछि अस्पतालको चरम लापरबाही भएको ठहर गर्दै अस्पताल प्रशासनविरुद्ध कडा कदम चाल्न शुरु गरिएको कुरा प्रजिअ कँडेलले बताए।
अस्पतालको इमरजेन्सी कक्षमा ड्युटीमा रहेका डाक्टर अमित मिश्रसमेत नभएपछि बाध्यताबस जिप दुर्घटनाका घाइतेलाई प्रशासनले उपचारका लागि विराटनगर रिफर गरेर अस्पतालका डाक्टरलाई कारबाहीका लागि खोजी कार्य थालिएको कुरा पनि प्रजिअ कँडेलले बताए।
अस्पताल प्रशासनको लापरबाही भएका कारण आफूले अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीलाई समेत उपस्थित गराएर ड्युटी छाडेर हिँडेका डाक्टर मिश्रको समेत प्रहरीले खोजी कार्य शुरु गरेको प्रजिअ कँडेलले बताए।
यसका लागि आफूले स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गराइसकेको र अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मी नै नहुनुको चरम लापरबाहीविरुद्ध आफैँले कारबाही प्रक्रियासमेत अगाडि बढाएको पनि प्रजिअ कँडेलले बताए।
यता अस्पतालका कामु डाक्टर मिश्रलाई अहिले जनताबाट खतरा भएका कारण खोजी कार्य शुरु गरेर अस्पतालमा समेत सुरक्षा दिन प्रहरी परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।
चिकित्सक र अस्पतालका विरुद्ध स्थानीयवासी र घाइतेका आफन्तसमेत विरोधमा उत्रेका कारण डाक्टरलाई पक्राउ गरेर सुरक्षा दिने र अन्यलाई सम्झाइबुझाइ गरेर फर्काउने कार्य भएको पनि प्रहरी प्रमुख भट्टले बताए।
अस्पतालका एक कर्मचारीका अनुसार अस्पतालका प्रमुख डा विशाल देवसहितको टोली सोमबार नै जिल्लाको सुनकोशी गाउँपालिकामा महिलाको पाठेघर सम्बन्धि शिविर चलाउन गएका कारण कर्मचारीको अभाव हो।
यता प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार अस्पतालमा बाँकी रहेका डाक्टर र कर्मचारीले काम नै नगरी अस्पताल छाडेर हिँडेको पाइएको तथा लापरबाही गरेको र जिप दुर्घटनामा परेका बिरामी ल्याउने कुरा अगाडि नै अस्पताल प्रशासनलाई सूचना दिँदा अस्पतालमा कर्मचारी नै नभएको पाइएका कारण सम्बन्धित पदाधिकारीलाई विभागीय कारबाही गर्न आफूले कदम चालेको बताए।
अस्पताल प्रशासनको यो कार्यप्रति अहिले स्थानीय जनता पनि आक्रोसित भएका छन् ।
मंगलबार रौतामाई गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा ४५ वर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको थियो भने गाडी चालक रत्न राई तथा भक्तबहादुर सार्की र निर्मला राई गम्भीर घाइते भएका छन्।
घाइतेलाई अस्पतालमा उपचारका लागि प्रशासनले ल्याउने र उपचारको लागि तयारी रहन निर्देशन दिँदादिँदै पनि अस्पतालमा रहेका डा अमित मिश्र र अन्य कर्मचारी भने अस्पताल छाडेर अन्यत्र गएका कारण पनि अहिले प्रशासनले कडा कदम चालेको बताएको छ।
जिप दुर्घटनाका घाइतेलाई प्रहरी प्रशासनले विराटनगरस्थित न्युरो अस्पताल रिफर गरेको प्रहरी उपरीक्षक भट्टले बताए। रासस