काठमाडौं- राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी क्षयरोगको छोटो अवधिको उपचार विधि सुरु गर्ने भएको छ। केन्द्रले पुस १६ गतेदेखि पहिलो चरणमा देशका चार स्थानबाट नौ महिने उपचार सेवा सुरु गर्न लागेको हो। जटिल मानिने सो क्षयरोगमा यसअघि २० देखि २४ महिनासम्म निरन्तर उपचार गर्नुपर्थ्यो।
छोटो अवधिको उपचार सेवा काठमाडौं, विराटनगर, बुटवल र नेपालगन्जमा सुरु हुन लागेको क्षयरोग केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले जानकारी दिए। डा केसीका अनुसार, यो सेवालाई यसै आर्थिक वर्षको अन्त्यसम्ममा थप विस्तार गर्ने योजना छ।
‘नयाँ व्यवस्था अनुसार अब नौ महिना निरन्तर उपचार र रेखदेख गरे पुग्छ’, डा केसीले भने, ‘उपचार सेवा प्रभावकारी बनाउँदै लैजाने क्रममा नयाँ उपचार सुरु गर्न लागिएको हो।’
विगतको उपचार विधिमा ८ देखि १२ महिनासम्म सुई लगाउनुपर्थ्यो भने नयाँ उपचार विधिमा ४ देखि ६ महिनासम्म मात्र सुई लगाए पुग्छ। औषधि भने नौ महिनासम्म नै खानुपर्छ। नौ महिने उपचार विधिमा हाललाई आवश्यक सबै औषधि बेल्जियमको दामिन फाउन्डेसनले केन्द्रलाई उपलब्ध गराएको छ।
बहुऔषधि लिनुपर्ने अवस्थाका क्षयरोगी भनेको जटिल अवस्थाका रोगी हुन्। पहिले सामान्य क्षयरोग लागेको समयमा औषधि नलिँदा, अन्य गलत औषधि खाइदिँदा, खाइरहेको औषधिलाई बिचमै छाड्दा वा कमजोर गुणस्तरको औषधि खाँदा यस्तो जटिल क्षयरोग हुने गर्छ। बहुऔषधि लिनुपर्ने बिरामीहरुलाई चिकित्सकहरुको निगरानीमा समय मिलाएर औषधि दिनुपर्ने हुन्छ।
नेपालमा हाल बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन। तर, केन्द्रले उपचारको दायरामा आएका बिरामीको संख्यालाई आधार मानेर निकालेको तथ्यांक अनुसार वार्षिक ४ सय ५० जनालाई उपचार सेवा प्रदान भइरहेको छ। नेपालमा हरेक वर्ष करिब ४५ हजार क्षयरोगी थपिने अनुमान गरिन्छ। तीमध्ये करिब ३ प्रतिशतलाई बहुऔषधि प्रतिरोधी क्षयरोग हुने अनुमान छ। क्षयरोगको परीक्षण तथा उपचार देशभर नि:शुल्क छ।
डा केसीका अनुसार हाल यो सेवा गर्भवती र फोक्सो बाहेकका अन्य अंगमा क्षयरोग भएका बिरामीलाई भने दिइनेछैन। सन् २०१६ मा 11 संगठनबाट मान्यता पाइसकेपछि मात्र यो उपचार विधि नेपालमा सुरु भएको हो।
दामिन फाउन्डेसनका डा सुशील कोइरालाका अनुसार छोटो अवधिको उपचार सेवा थाल्ने देशमध्ये नेपाल ३८औं देश हो।
‘विभिन्न देशमा सञ्चालनमा रहेको यो उपचार विधिको विस्तृत अध्ययन गरी त्यसका सकारात्मक सूचकहरुलाई स्वीकार गरेपछि डब्लुएचओले मान्यता दिएको छ’, उनले भने, ‘छोटो अवधिको यो उपचार विधि प्रभावकारी भएकाले नै लागू गरिएको हो।’
उनले क्षयरोगमुक्त नेपाल बनाउने अभियानलाई फाउन्डेसनले सहयोग गर्ने बताए।