काठमाडौं– स्वास्थ्य मन्त्रालयले मातहतका ४ जना डाक्टरको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री दीपक बोहराले ११औं तहका ४ डाक्टरलाई नयाँ जिम्मेवारी दिएका हुन्।
मन्त्री बोहराले मन्त्रालय माताहतका रिक्त ४ कार्यालयमा प्रमुख तोकेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार परिवार स्वास्थ्य महाशाखाको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्। महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले अनिवार्य अवकास पाएपछि महाशाखा रिक्त थियो।
यस्तै, रिक्त रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा डा बासुदेव पाण्डेले जिम्मेवारी पाएका छन्। डा पाण्डे यसअघि मध्यमाञ्चल क्षेत्रीय निर्देशक थिए।
डा पाण्डेलाई केन्द्रमा ल्याएसँगै उनको स्थानमा धनकुटा अस्पतालमा कार्यरत डा मदन उपाध्यायलाई जिम्मेवारी तोकिएको छ।
सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ। उक्त कार्यालयमा कार्यरत डा सुशील प्याकुरेल १२औं तहमा बढुवा भएर मन्त्रालय आएपछि निर्देशक पद रिक्त थियो।