काठमाडौं– स्वास्थ्य मन्त्रालयकी नवनियुक्त सचिव डा पुष्पा चौधरीले आज पदभार ग्रहण गरेकी छिन्। डा चौधरीलाई मन्त्रीपरिषद्ले बिहीबार सचिवमा नियुक्त गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवमा नियुक्त भएको पत्र बुझेपछि उनी ११ बजे स्वास्थ्य मन्त्रालय पुगेकी थिइन्। पदभार ग्रहण गरेपछि सचिव डा चौधरीले सबैसँग मिलेर नयाँ चुनौतीको सामना गर्ने बताइन्।
‘काममा सफलता मिल्नका लागि टिमवर्कको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भनिन्, ‘त्यसकारण संघिय नेपालमा स्वास्थ्यका कामहरु अगाडि बढाउन हामी सबै मिलेर जानुपर्छ ।’
डा चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन्। उनी ०६२ सालमा ११औं तहमा प्रतिस्पर्धाबाट बढुवा भएकी थिइन्। गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्। त्यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृहकी निर्देशक समेत थिइन्।