धनगढी– हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम अझैं चुनौतिपूर्ण रहेको पाइएको छ । प्रदेश नम्बर ७ मा लगातार पा“च वर्षसम्म हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेकोमा तराईका जिल्लामा उपलब्धी अझैं निराशाजनक रहेको तथ्यांकले देखाएको छ।
७ नम्बर प्रदेशको नौ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधी खुवाउने कार्यक्रम पाचौ चरण पुरा गरि छैठौ चरणमा प्रवेश गरिरहेको अवस्थामा प्रदेश नम्बर ७ का तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायलले जनाएको छ ।
सरकारले सन् २०२० सम्म हात्तीपाईले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन गरेको थियो।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ । देशका ३० वटा जिल्लामा अहिले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन गरिरहेको छ।
11 संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता ७ नम्बर प्रदेशको नौ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको बताइएको छ ।
७ नम्बर प्रदेशको डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाईलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिए पनि कैलाली र कञ्चनपुरमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
परीक्षणले कञ्चनपुरमा सन् २०१३ को तथ्यांक अनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने भर्खरै गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ । कञ्चनपुरमा अहिले दुई दशमलव आठ संक्रमण दर रहेको छ ।
कैलालीमा भने सन् २०१३ को तुलनामा संक्रमण दर वृद्धि भएको देखाएको छ । सन् २०१३ मा कैलालीमा छ दशमलव संक्रमण दर रहेकोमा भर्खरै गरिएको अध्ययन अनुसार छ दशमलव ३३ प्रतिशत संक्रमण दर रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) का छ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् ६ दशमलव ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, कञ्चनपुरको बेलौरी र कृष्णपुर नगरपालिकाका छ सय चार जना मध्ये ११ जनामा संक्रमण रहेको पाइएको थियो । यो संक्रमण दर दुई दशमलव आठ प्रतिशत हुन्छ ।
टोलीमा रहेका कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले प्रभावित दुई जिल्लामा अझै दुई पटकसम्म र अन्य जिल्लामा यो पटक हात्तिपाइले रोग विरुद्ध औषधी सेवन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
भेक्टर कन्ट्रोल सुपरभाईजर भट्टका अनुसार सन् २०१३ र हाल गरिएको अध्ययन शैली फरक रहेको हुँदा कैलाली जिल्लामा कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिएको बताए ।
हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाइएको थियो । विगतका वर्षमा हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण यस्तो अवस्था आएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले बताए । हात्तीपाइलेको औषधि खा“दा हुन सक्ने असरबारे स्वास्थ्यकर्मीले राम्रोस“ग बुझाउन नसकेको उनले बताए ।
बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंका अनुसार हात्तीपाइलेको औषधि खा“दा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत प्रचारका कारण औषधि लिने, तर नखाने समस्या रहेको छ । हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने प्रतिअसर देखिन सक्छ ।
पाँच वर्ष लगातार औषधि खुवाउ“दा पनि कैलालीमा ६ प्रतिशतभन्दा बढी हात्तीपाईले पोजेटिभ देखिएपछि हात्तीपाईले औषधि खुवाउने कार्यक्रम प्रभावकारितामाथि प्रश्न उठेको हो ।