काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सा शास्त्रको विशेषज्ञ तह (पोस्ट ग्र्याजुए) अध्ययनका लागि विदेशमा जाने नेपाली विद्यार्थीलाई ४ मापदण्ड तोकेको छ। काउन्सिलले पुस १७ गतेदेखि लागू हुने गरी नयाँ मापदण्ड तोकेको हो।
काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाका अनुसार जनवारी १ अर्थात् पुस १७ पछि विदेशका कलेज तथा विश्वविद्यालयमा विशेषज्ञ तह अध्ययनका लागि जाने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश परीक्षा पास गर्नुपर्ने लगायतका ४ मापदण्ड तोकिएको छ। उनले मापदण्ड पूरा नगरी कोही विद्यार्थी विदेश अध्ययनका लागि गएमा त्यस्ता विद्यार्थीलाई लाइसेन्सिङ परीक्षामा सहभागी नगराइने बताए।
काउन्सिलले तोकिएका ४ मापदण्ड पूरा गरेका विद्यार्थीलाई मात्र अध्ययनका लागि अनुमति पत्र (इलिजिबिलिटी) दिने व्यवस्था गरेको हो। यसअघि विद्यार्थीले आवेदन मात्र दिए अनुमति पत्र पाउँथे भने यस वर्षदेखि कुनै विश्वविद्यालय वा प्रतिष्ठानले लिएको प्रवेश परीक्षा अनिवार्य पास गरेको हुनुपर्छ। डा गोविन्द केसी अनसन बस्दा उनले उठाएका मागमध्ये यो पनि एक थियो।
काउन्सिल अध्यक्ष डा बाँस्कोटाले एमबिबिएसपछि काउन्सिलले पिजीमा पनि परीक्षाको व्यवस्था लागू गर्न लागेको बताए। ‘विशेषज्ञ तहको लाइसेन्सिङ परीक्षाको नतिजा निराशाजनक आउन थालेपछि सुरुमै दक्ष विद्यार्थी मात्र पढ्न जाने व्यवस्था गर्न लागिएको हो,’ उनले भने, ‘यो व्यवस्था लागू भएपछि पिजीका क्षेत्रमा देखिएको विकृति पनि धेरै रोकिनेछ।’
गत वर्ष पिजी अध्ययनका लागि नेपालबाट ३ सय ९० विद्यार्थी विदेशिएका थिए। काउन्सिलले गत साउनमा लिएको विशेषज्ञ तहको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत विद्यार्थी असफल भएका थिए।
काउन्सिलले यसअघि सन् २०१६ फेब्रुअरीदेखि एमबिबिएस अध्ययनका लागि विदेश जानेले प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गरेको थियो।
यी हुन् ४ मापदण्ड
१. नेपाल वा सम्बन्धित देशको राष्ट्रिय स्तरको प्रवेश परीक्षा उत्तीर्ण भएको हुनुपर्ने
२. तीनवर्षे आवासीय तालिम पूरा गरेको हुनुपर्ने
३. अनिवार्य क्लिनिकल शोधपत्र स्वीकृत भएको हुनुपर्ने
४. अन्तिम परीक्षा उत्तीर्ण भई सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठान वा बोर्डबाट प्रमाणित गरेको हुनुपर्ने
काउन्सिलको पूरा सूचना-
