काठमाडौं- कैलाश ठाकुरको जीवनमा उज्यालो त्यो बेला आयो जब उनका दुवै आँखा प्रत्यारोपण गरियो।
आँखा प्रत्यारोपणपछि दुवै आँखाले देख्ने भएपछि जीवन फेरिएको उनको अनुभव छ । प्रत्यारोपणपूर्व दुवै आँखामा दृष्टि नभएकाले हरेक दिन कष्टकर भएकोे उनले बताए।
उनको जीवनमा उज्यालो ल्याउनका लागि कसले आफ्नो आँखा दान गरेको थियो थाहा छैन । ठाकुर भन्छन्, ‘यो उज्यालो संसार देख्न पाउँदा हरेक पल आँखा दान गर्नेहरुलाई धन्यवाद दिइरहन्छु ।’
जन्मजात दृष्टिविहीन सविन बोगटीको बाल्यकाल पनि निकै कष्टकर भयो । परिवारले आँखामा दृष्टि ल्याउन हरसम्भव प्रयास गरे पनि त्यो सम्भव भएको थिएन ।
स्नातक प्रथम वर्षमा अध्ययनरत बोगटीका अन्ततः दुवै आँखा प्रत्यारोपण गरेपछि उज्यालो संसारमा प्रवेश गरे।
‘जब आँखा प्रत्यारोपण गरेर उज्यालो देखेँ, निकै फरक अनुभव भयो, आँखा नदेख्दा संसार र देख्दाको संसार फरक छ, जसले आँखा दान गरेर आफू नरहे पनि मलाई आफ्नो उज्यालो दिनुभयो उहाँ देवताको रुप हुनुहुन्थ्यो’, उनले भने।
देख्ने भएपछि पनि शुरुवाती दिनहरु कष्टकर नै भएको बोगटी सम्झन्छन्। ‘देख्न त थालेँ तर के चिजलाई के भन्ने थाहा पाउन समय लाग्यो, पहिले सुनेको मात्र थिएँ तर देखेर यो भनेको यो हो भनेर चिन्न निकै समय लाग्यो ।’
‘उज्यालोको ज्योति बाढौँ, मरेपछि खेरजाने आँखाको उज्यालो दान गरे अँध्यारोमा बाँचेकाले ज्योति पाउँछन्, जसले दृष्टिविहीनलाई नयाँ जुनी दिन्छ’ दुई वर्षअघि आँखाको नानी प्रत्यारोपण गरेका विदुर लामिछानेले भने ।
बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कर्निया विभागका प्रमुख आँखा नानी प्रत्यारोपण विज्ञ डा विनु चौधरीले आँखा दान सबैभन्दा ठूलो दान हो भन्ने कुरा जनतामा बुझाउनुपर्ने बताइन्।
उनले भने, ‘अहिले पनि आँखा दान गर्नहुन्छ भन्ने मानसिकता छ, त्यसलाई परिवर्तन गरी आँखा दान मात्रै होइन, शरीरका अन्य अंगको पनि दान गर्नु सबैभन्दा पुण्यको काम हो भन्ने बुझाउन आवश्यक छ, यसबारे जनचेतना अभियान नै चलाउनुपर्छ ।’
उनले प्रत्यारोपण कनिर्या सर्जन र पछिल्लो उपकरणको अभाव भएकाले सरकारले ध्यान दिनुपर्ने बताए। ‘आँखा प्रत्यारोपण सेवालाई काठमाडौँमा केन्द्रित नगरी बाहिर पनि विस्तार गर्नुपर्छ’ उनले भने।
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले आँखादान सबैभन्दा ठूलो दान भएको बताए। उनले मरेपछि खेर जाने आँखामात्र होइन शरीरका अन्य अंग पनि दान गरौँ, हामी नरहे पनि बाँचेकाले जीवन्तता पाउँछन् भने।
तिलगंगा आँखा केन्द्रले आँखा दान गरी निधन भएका व्यक्तिको सम्झनामा आयोजित श्रद्धाञ्जलिसभामा कलाकार आचार्यले स्व श्रीमती मीरा आचार्यको आँखाले पनि अहिले आफूलाई हेरिरहेको अनुभूति हुने बताए। उनले भने, ‘अहिले पनि मीरा बाँचिरहेकी छिन् जस्तो लाग्छ, उनका आँखा जसले पाउनुभएको छ, ती आँखाले मलाई नियालिरहेको झैँ लाग्छ।’
आँखाको नानीमा फुलो परी हुने अन्धोपनलाई हटाउन र नेपालमै आँखाको नानी प्रत्यारोपण सेवा शुरु गर्न तिलगंगा आँखा केन्द्रमा २०५१ सालमा आँखा बैँकको स्थापना भएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङ अहिले आँखा दानप्रति सकारात्मक सोच बढिरहेको बताइन्।
‘आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरता बनाउन नेपालभरि आँखा बैंकको सेवा दिने लक्ष्य राखेका छौँ”, उनले भनिन्।
शुरुवात्को अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगाई यससम्बन्धी बुझाउने गरिन्थ्यो भने अहिले आर्यघाट विद्युतीय शवदाह गृहलगायत काठमाडौँमा रहेका तीनवटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने गरिन्छ । आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।
नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले आँखा दानलाई संस्कारका रुपमा विकास गर्नुपर्ने बताए।
शुरुका दिनमा आँखाको नानी विदेशबाट झिकाउने गरिए पनि हाल आँखाको नानी देशभित्रबाटै संकलन गर्ने गरिएको छ ।
आँखा बैंकमा ७० हजारभन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गरिसकेका छन् भने हालसम्म १२ हजार ५०० जनामा आँखाको नानी प्रत्यारोपण गरिसकेको छ।
आँखाको अन्धोपन हटाउनका लागि महत्वपूर्ण कदम मानिएको आँखा प्रत्यारोपण संसारमा पहिलोपल्ट रसियामा सन् १९४० भएको थियो । रासस