काठमाडौं- युवा डाक्टरहरुको समूहले बिरामीलाई घरमै गएर सेवा दिने उद्देश्यले ‘डाक्टर्स अन कल’ सेवा सुरु गरेका छन्।
‘एक कलको भरमा, डक्टर घरघरमा’ भन्ने नाराका साथ कार्यक्रम सुरु भएको हो।
हास्य अभिनेता हरिवंश आचार्यले सोमबार सेवाको औपचारिक सुरुवात गरे। कमलपोखरीस्थित ‘सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरिज’को सहकार्यमा डाक्टर्स अन कल प्रालिले सेवा सञ्चालनमा ल्याएको हो।
कार्यक्रममा अभिनेता आचार्यले प्रविधिको विकाससँगै नेपालमा पनि उपचारको दायरा फराकिलो हुँदै गएको बताए। उनले नेताहरुले पनि नेपालमै उपचार गर्ने हो भने जनतामा नेपाली अस्पतालप्रति विश्वास बढ्दै जाने धारणा व्यक्त गरे।
डाक्टर्स अन कलका प्रबन्ध निर्देशक डा सुमन न्यौपानेले पक्षघात, दीर्घ रोग तथा अन्य समस्या भएका बिरामीहरुको घरमै पुगेर उपचार प्रदान गरिने जानकारी दिए।
‘हामी उपचार सेवासँगै फिजियोथेरापी तथा ल्याब सेवा घरमै उपलब्ध गराउँछौं', उनले भने, ‘स्वास्थ्य समस्याका बारेमा हामीलाई फोन गरेपछि बिरामीको घरमै गएर सेवा दिनेछौं।’
डा न्यौपानेका अनुसार, बिरामी तथा बिरामीका आफन्तले ०१–४०११६६६ र ०१–४०११७७७ नम्बरमा फोन गर्न सक्नेछन्।
‘यो सेवा हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ,’ डा न्यौपानेले भने, ‘तर, उपत्यका बाहिरबाट समेत उक्त नम्बरमा फोन गरेर बिरामीले निःशुल्क परामर्श भने लिन सक्नेछन्।’
