काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अनुसार प्रदेशमा रहने शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि सचिवहरुको नामावली माग गरेको छ।
मन्त्रालयले सात प्रदेशमध्ये चार प्रदेशमा स्वास्थ्यका र तीन प्रदेशमा शिक्षा मन्त्रालयका सचिव राख्न नामावली माग गरेको हो। सामान्यले सचिवको नाम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पत्र पठाइसकेको छ।
सामान्यको पत्र आएपछि स्वास्थ्य मन्त्रालयले वरिष्ठताका आधारमा ११औं तहका कर्मचारीलाई सचिवमा सिफारिस गर्ने तयारी गरेको मन्त्रालय स्रोत बताउँछ।
सचिवसँगै सामान्यले प्रदेश मन्त्रालयका लागि तत्काल आवश्यक पर्ने अन्य कर्मचारीको समेत नामावली सिफारिस गर्न भनेको छ। सामान्यको पत्रमा प्रदेश कार्यालयका लागि तत्कालका लागि ११औं तहका ७ जना, दसौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ जना र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० जना कर्मचारीको नाम पठाउन भनिएको छ।
मन्त्रालयले प्रदेशमा जान चाहने कर्मचारीहरुबाट निवेदन माग गर्ने तयारी गरेको छ।