काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट बिनासूचना निष्कासित गरिएका नर्सको पुनर्वहालीको मागसहित केही दिनदेखि आन्दोलनरत ३ जना नर्स बिरामी परेका छन्।
४ दिनदेखि स्वास्थ्य मन्त्रालय र प्रत्यारोपण केन्द्र धाइरहेका नर्स त्रजिना जति, सजना देउला र जिता बराल बेहोस भएपछि उनीहरुको उपचार थालिएको छ।
नर्स जति र देउलालाई मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना गरी उपचार थालिएको छ भने बराललाई शिक्षण अस्पतालमा भर्ना गरिएको एन्टिकरप्सन मुभमेन्ट 4 संयोजक दिया भण्डारीले बताइन्।
खानापानमा अनियमितता र तनावका कारण उनीहरु बिरामी परेको उनले बताइन्। उनले भनिन्, ‘केही दिनदेखि लगातार न्यायका लागि लडिरहेका छौं यही दौडधुप र तनावका कारण साथीहरु एक्कासी बेहोस भएपछि उपचार थालिएको हो।’
विगत ७ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्रमा संघर्ष गरिरहेका नर्सहरुले अहिले भने आन्दोलन थालेका हुन्। तर, उनीहरुलाई निकाल्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र 4 प्रमुख स्वास्थ्य मन्त्रालयको सम्पर्कमा समेत पुगेका छैनन्।
निर्देशक डा श्रेष्ठले आन्दोलन तुहाउन आन्दोलनको नेतृत्व गरिरहेका नर्सलाई विभिन्न नेताबाट फोन गर्न लगाएको नर्स जिता बराल बताउँछिन्। उनले भनिन्, ‘हाम्रा साथीहरुलाई र मलाई नेताहरुले आन्दोलनबाट पछि हट्न फोन गरिरहनुभएको छ। अधिकारकाे लडाइँ हाे। नेताकाे दबाब कसैले सहन्नाैं।’