काठमाडौं– स्वास्थ्य मन्त्रालयले संघीय संरचना अनुसार प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा कर्मचारी खटाउने तयारी अगाडि बढाएको छ। मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार प्रदेशमा जान चाहने कर्मचारीसँग निवेदन माग गरेको छ।
स्वास्थ्यले माताहतका कर्मचारीलाई ३ दिनभित्र मन्त्रालयमा निवेदन दिन भनेको छ। मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार प्रदेश मन्त्रालयमा खटिएर जान इच्छुक कर्मचारीबाट आएको निवेदनका आधारमा कर्मचारी छनोट गरी प्रदेशमा पठाइनेछ। उनले स्वास्थ्य सेवाकोे चौथोदेखि एघारौँ तहसम्मका कर्मचारीसँग निवेदन माग गरिएको जानकारी दिए।
मन्त्रालयले यी ४ वर्गका कर्मचारीलाई भने प्रदेशमा सिफारिस नगर्ने जनाएको छ।
१. उमेर ५५ वर्ष नाघेका कर्मचारी,
२. मेडिकल बोर्डबाट सिफारिश गरिएका दीर्घ रोगी, कडा रोगी कर्मचारी,
३. महिला कर्मचारीको हकमा सुत्केरी भएको ६ महिना ननाघेका र ६ महिना नाघेका गर्भवती कर्मचारी,
४. हिँडडुल गर्न सहायता आवश्यकता पर्ने अपांगता भएका कर्मचारी।
संघीय संरचना अनुसार प्रदेशमा रहने शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा तत्कालका लागि ४ सचिव र अन्य १ सय ४० कर्मचारी खटाइन लागिएको हो।
७ प्रदेशमध्ये ४ प्रदेशमा स्वास्थ्यका र ३ प्रदेशमा शिक्षा मन्त्रालयका सचिव राख्ने सरकारी तयारी छ।
प्रदेश कार्यालयका लागि तत्कालका लागि ११औं तहका ७ जना, दसौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ जना र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० कर्मचारी खटाउने तयारी भएको हो।