रसुवा– भूकम्प गएको ३२ महिनापछि जिल्ला अस्पताल रसुवाको प्रिफ्याब भवन निर्माण भएको छ । भूकम्पले भवन पूर्ण क्षति भएपछि त्रिपालबाट सेवा प्रवाह गर्दै आएको अस्पतालका लागि नेपाल रेडक्रस सोसाइटीले प्रिफ्याब भवन निर्माण गरेको हो । निर्माण गरिएको सेमिपरमानेन्ट प्रिफेब्रिकेटेड भवनको मंगलबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुणनिधी शर्मालाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । अस्पतालको लागि प्रिफ्याब भवन हस्तान्तरण गरिएसँगै अब जिल्ला अस्पताल रसुवा टेन्टबाट मुक्त हुने भएको छ ।
करिब ४ करोड २५ लाख रुपैयाँको लागतमा ५ वटा शौचालय सहित २० कोठे भवन निर्माण गरि हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले बताए । उनले भने बिभिन्न समस्याको बाबजुत पनि हामीले १५ शैयाको प्रिप्mयाब भवन निर्माण गरि हस्तान्तरण गरेका छौं।
यस्तै अस्पतालको लागि ४२ लाख ९५ हजार रुपैयाँको लागतमा उपकरण समेत खरिद गरि हस्तान्तरण गरिएको तामाङले बताए । उनले भने, ‘भवन निर्माण सुरु गरेसँगै हालसम्म हामीले अस्पताललाई १५ वटा शैया, डेन्टल चेकअप सेट, इलेक्ट्रोकाडियोग्राम मेसिन र पोट्रेबल, अक्सिजन कन्सनट्रेटर, अल्ट्रासाउन्ड मेसिन, जेनेरेटर लगायतका सामाग्री हस्तान्तरण गरेका छौं ।’
भूकम्प पश्चात् नेपाल रेडक्रस सोसाइटीको सहयोगमा टेन्ट तथा त्रिपालबाट जिल्ला अस्पताल सञ्चालनमा ल्याइएको थियो । करिब डेढ वर्षसम्म प्रयोग गर्न सकिने टेन्ट, भूकम्प गएको ३२ महिना पुग्दासम्म प्रयोग हुँदा काम नलाग्ने अवस्थामा पुगेको थियो । अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइए पनि भवन अभावमा बिरामी तथा बिराकीका कुरुवाहरुलाई समस्या हुने गरेको थियो। अहिले निर्माण भएको सेमिपरमानेन्ट प्रिफेब्रिकेटेड भवन करिब ३० वर्षसम्म प्रयोग गर्न सकिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
गत असारमा १५ शैयाको प्रिफ्याब भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि बिभिन्न समस्याका कारण करिब ६ महिना ढिलाइ भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रसुवाका संयोजक मधुसुधन थापाले बताए । उनले भने, ‘हामिले गत वर्ष जनवरीबाट काम सुरु गरेका थियौं । अहिले ठ्याक्कै एक वर्ष भयो । एक वर्षमा सबै काम सम्पन्न गरि हस्तान्तरण गर्ने भनिएपनि सुरुको ६ महिनामा केहि प्राबिधिक समस्याका कारण ढिलाई भएको हो।’
भवन हस्तान्तरण गरेपनि स्वास्थ्य सेवा भने अहिले पनि त्रिपालबाटै सञ्चालन भइरहेको छ । हस्तान्तरण गरिएको भवनबाट अबको केही दिन भित्रमै सेवा सुचारु गरिने जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख गुणनिधी शर्माले बताए । उनले भने, ‘अहिले हामीलाई भवन मात्र हस्तान्तरण गरिएको हो, भवनभित्र चाहिने सामाग्रीहरु राख्न बाकि नै छ । अबको केही दिनमै त्रिपालबाट सेवा दिइरहेका स्थानका सामाग्रीहरु नयाँ भवनमा सारेसँगै नयाँ भवनबाट सेवा दिन सुरु गर्नेछौं।’
जिल्ला अस्पताल रसुवामा दैनिक जसो २० देखि ५० जनासम्म बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । यस्तै यसअघि जिल्लाको कालिका गाउँपालिका–५ स्थित कालिकास्थानमा सामुदायिक अस्पताल सञ्चालनमा रहेको थियो । जिल्लाको माथिल्लो भागमा पर्ने गोसाइँकुण्ड र पार्वतीकुण्डका बिरामी जिल्ला अस्पताल आउने गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि सदरमुकाम आउन असहज भएसँगै नुवाकोट, काठमाण्डौ लगायतका स्थानमा जाने गरेका छन् ।