तेह्रथुम – तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो।
जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो।
आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाका स्वास्थ्य संस्थाबाटै ६९० जनाले प्रसूति गराएका छन् । त्यसमध्ये ५५५ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी ७१ जनाको प्रसूति शल्यक्रिया गरेर गरिएको छ भने ६४ जनाले आकस्मिक प्रसूति सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो संख्या अघिल्लो वर्षको भन्दा १०० ले बढी हो।
अघिल्लो आव २०७२÷७३ मा जिल्लाका स्वास्थ्य संस्थाबाट ५९० जनाले मात्रै प्रसूति गराएका थिए। चालू आवको हालसम्मको अवधिमा पनि प्रसूति गराउनेको संख्या बढ्दो देखिएको कार्यालयका प्रमुख डा मुक्तिनारायण शाहले बताए। जिल्ला अस्पतालमा मात्रै चालू आवको असोज मशान्तसम्ममा ११२ जनाले प्रसूति सेवा लिएका छन्।
जिल्लाबाट भरपर्दो स्वास्थ्य सेवाका लागि भन्दै सेवाग्राही धरान र विराटनगरका सुविधासम्पन्न अस्पतालमा झर्ने गर्छन्। तर पछिल्लो समय जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको चुस्त व्यवस्थापनले सेवाग्राहीमा जिल्लाकै स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्दै गएको देखिएको छ।
स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिलासमेत सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका छन्।
“घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्थामै आउन थाले”, कार्यालयका जनस्वास्थ्य निरीक्षक लभरेञ्ज शाहले भने, “स्वास्थ्य संस्थामै आएर प्रसूति गराउँदा पाइने प्रोत्साहन र यातायात खर्चले समेत सहज बनाएको छ।”
उनका अनुसार स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलालाई सरकारले यातायात खर्चवापत रु एक हजार उपलब्ध गराउँदै आएको छ भने गर्भवती भएपछि नियमित जाँच गरेवापत प्रोत्साहनस्वरुप थप रु ४०० दिने गरेको छ।
जिल्लामा सदरमुकाम म्याङ्लुङमा रहेको जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको प्रसूति सेवा र सामान्य प्रसूति गरी दुवै सेवा उपलब्ध छ। रासस