काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट व्यक्ति उपचार सहायता सम्बन्धी कार्यविधि विपरीत पूर्वसभामुख तारानाथ रानाभाट र अन्य व्यक्तिलाई दिइएको रकम फिर्ता लिन माग गरेका छन्।
नेता थापाले विशिष्ट व्यक्तिहरुको उपचारार्थ राज्यकोष दुरुपयोगको बेथिति रोक्न ल्याइएको कार्यविधि कार्यान्वयनमा ल्याउन पनि माग गरेका छन्। थापा स्वास्थ्य मन्त्री हुँदा सरकारले विशिष्ट व्यक्ति उपचार सहायता सम्बन्धी कार्यविधि ल्याएको थियो।
थापाले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत आफ्नो माग सार्वजनिक गरेका हुन्।
‘सरकारले विशिष्ट व्यक्ति उपचार सहायता सम्बन्धी कार्यविधि पूर्णतः कार्यान्वयन गर्दै जस्केलाबाट दिइने सहायतामा रोक लगाउनुपर्छ र हालै पूर्वसभामुख लगायतलाई राज्यकोषबाट आर्थिक सहायता दिने गरी भएको निर्णय अविलम्ब फिर्ता लिनुपर्छ,’ उनले लेखेका छन्, ‘निजी खर्चमा जनुसुकै देशमा उपचार गराउन व्यक्ति स्वतन्त्र भए पनि राज्यकोषबाट रकम दिएर पहुँचवालालाई विदेश उपचार गर्न पठाउने र जनताले देशभित्र सहज उपचारबाट वञ्चित हुने अवस्था अन्यायपूर्ण र विभेदकारी मात्रै नभएर लोकतन्त्रको मूल्य र मान्यता विपरीत छ।’
यस्तो छ गगनले सर्वाजनिक गरेका माग
राज्यका विशिष्ट व्यक्तिहरुको उपचारार्थ राज्यकोष दुरुपयोगका बेथिति रोक्ने प्रयास स्वरुप हामीले स्वास्थ्य मन्त्रालयबाट तयार गरेको कार्यविधि नेपाल सरकारले स्वीकृत गरेको थियो। जसमा,
१. पूर्व एवं बहालवाला विशिष्ट पदाधिकारीहरुले नेपालमा उपचार सम्भव हुने रोगको नेपालभित्रै उपचार गर्नुपर्ने,
२. नेपालमा उपचार हुन नसक्ने रोगको हकमा मेडिकल बोर्डको सिफारिसमा मात्रै त्यस्ता व्यक्तिका लागि अर्थ मन्त्रालयको सहमति र स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले अधिकतम १५ लाख रुपैयाँसम्म उपचार सहायता उपलव्ध गराउने,
३. कुनै एक व्यक्तिलाई त्यस्तो सहायता एक पटकका लागि मात्र उपलब्ध गराउने।
यो प्रावधान लागू भएपछि जथाभावी उपचारका लागि राज्यले आर्थिक सहयोग दिने प्रचलन धेरै हदसम्म नियन्त्रण भएको थियो र कार्यविधि स्वीकृति पश्चात स्वास्थ्य मन्त्रालयबाट एक जनालाई पनि यस्तो सहायता उपलब्ध गराइएको थिएन।
निजी खर्चमा जुनसुकै देशमा उपचार गराउन व्यक्ति स्वतन्त्र छ, तर राज्यकोषबाट रकम दिएर पहुँचवालालाई विदेश उपचार गर्न पठाउने र जनताले देशभित्र सहज उपचारबाट समेत वञ्चित हुने अवस्था अन्यायपूर्ण र विभेदकारी मात्रै छैन, हाम्रो लोकतन्त्रको मूल्य र मान्यता विपरीत छ।
तसर्थ, सरकारले विशिष्ट व्यक्ति उपचार सहायता सम्बन्धी कार्यविधि पूर्णत: कार्यन्वयन गर्दै जस्केलाबाट दिइने सहायतामा रोक लगाउनुपर्छ र हालैमा पूर्वसभामुख लगायतलाई राज्यकोषबाट आर्थिक सहायता दिने गरी भएको निर्णय अविलम्ब फिर्ता लिनुपर्छ।