काठमाडौं– स्वास्थ्य मन्त्रालयले संघीय संरचना अनुसार थप गरिएका २ जिल्लामा पनि स्वास्थ्य कार्यालय स्थापना गर्ने भएको छ। सरकारले केही समयअघि ७५ जिल्लामध्ये नवलपरासी र रुकुमलाई टुक्र्याएर ७७ जिल्ला बनाएको थियो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत पहिलाको ७५ जिल्लामा कार्यालय रहे पनि नयाँ २ जिल्ला नवलपुर र पूर्वी रुकुममा भने कार्यालय छैन। कार्यालय नभएको स्थानमा स्वास्थ्यका कार्यक्रम सञ्चालनमा समस्या देखिन थालेपछि मन्त्रालयले कार्यालय स्थापनाको निर्णय गरेको हो।
कार्यालय स्थापनाका लागि मन्त्रालयले दुवै जिल्लामा प्रमुख नियुक्त गरेको छ। मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार नवलपुरमा भरतपुर महानगरपालिकामा कार्यरत जनस्वास्थ्य प्रशासक शम्भू ज्ञवालीलाई पठाउने निर्णय भएको छ भने पूर्वी रुकुममा पश्चिम रुकुममा कार्यरत जनस्वास्थ्य अधिकृत शिव सार्कीलाई पठाइने निर्णय भएको छ।
नवनियुक्त स्वास्थ्य प्रमुखले जिल्लामा गएर कार्यालय स्थापना तथा सञ्चालनको काम अगाडि बढाउने खनालले जानकारी दिए।