काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई नियुक्त गरेको छ। डा लोहनीलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निर्देशकको जिम्मेवारी दिइएको हो।
स्वास्थ्य बिमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ। खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
स्वास्थ्य बिमा ऐन आएपछि बिमाको काम गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको अस्तित्व समाप्त भएको छ। डा लोहनी उक्त समितिका कार्यकारी निर्देशक थिए।
डा लोहनीले समितिको अस्तित्व सकिएको र बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै गत पुस ९ गते राजीनामा दिएका थिए।