काठमाडौं– संघीय संरचना अनुसार प्रदेशमा रहने स्वास्थ्य मन्त्रालयमा जान करिब ६ सय कर्मचारीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन्। प्रदेशमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछ।
स्वास्थ्य मन्त्रालयले प्रदेशमा जान चाहने इच्छुक कर्मचारीलाई ३ दिनभित्र निवेदन दिन भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो। निर्धारित ३ दिनको अवधिमा मन्त्रालयमा र इमेल मार्फत करिब ६ सय जनाले निवेदन दिएको मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए।
‘सबै निवेदकको विवरण संकलन गर्ने काम हुँदै छ,’ उनले भने, ‘लगभग ६ सय जनाको निवेदन परेको छ। अब निश्चित मापदण्ड बनाएर कर्मचारी छनोट गर्नुपर्ने देखिन्छ।’ मन्त्रालयले ७ वटा प्रदेशका लागि १ सय ४० जना कर्मचारी खटाउन लागेको छ।
उपचसचिव खनालका अनुसार चौथोदेखि ११औं तहका लागि आवश्यक १ सय ४० पदमा ६ सय जतिको आवदेन परेका कारण सबैलाई मान्य हुने मापदण्डका आधारमा मात्र कर्मचारी छनोट हुनेछ। उनले छनोटमा परेका कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालयमा पठाइने जानकारी दिए।
सामान्यले ७ प्रदेशमध्ये ४ प्रदेशमा स्वास्थ्यका र ३ प्रदेशमा शिक्षा मन्त्रालयका सचिव राख्न नामावली माग गरेको थियो। सचिव पदका लागि पनि मन्त्रालय र इमेलमार्फत ९-१० जनाको आवेदन परेको खनालले जानकारी दिए।
उनका अनुसार आवेदन दिएकामध्ये ४ जनाको मात्र विवरण हेरिएको छ। जसमध्ये डा रोशन पोखरेल, डा सञ्जय ठाकुर, डा पिताम्बर ठाकुर र डा विनोद गिरी छन्। डा पोखरेलले प्रदेश १ मा जान चाहेका छन् भने डा सञ्जयले पहिलो प्राथमिकता प्रदेश २ लाई दिएका छन् भने बाँकी रहेका अन्य प्रदेशलाई क्रमशः कम प्राथमिकतामा राखेका छन्। यस्तै, डा पिताम्बरले पनि प्रदेश २ र १ लाई प्राथमिकता दिएका छन्। डा विनोदको फाइल भने अध्ययनकै क्रममा रहेको खनालले बताए।
सामान्यले प्रदेश कार्यालयका लागि तत्काल ११औं तहका ७ जना, दसौं र नवौं तहका ३५ जना, आठौं तहका ६३ र छैटौं, पाँचौं र चौथो तहका ३५ जना गरी कुल १ सय ४० जना कर्मचारीको नाम पठाउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।