१) हाच्छिउँ गर्दा निस्किने थुकका छिटामा भाइरस
एक पटक हाच्छिउँ गर्दा थुकका झन्डै ४० हजार छिटा बाहिर निस्किन्छ। थुकको एक छिटा मानिसलाई फ्लुको संक्रमण गराउन पर्याप्त हुन्छ। थुकको ठूलो छिटा सतहमा झरे पनि त्यसमा भाइरस घन्टौं जीवित रहन सक्छ। त्यस ठाउँमा हामीले छोएर नाक, मुख वा आँखामा स्पर्श भएका फ्लु सजिलै सर्छ। स-साना थुकका छिटा कोठाको हावामा घन्टौं रहन सक्छ।
२) खोकी र हाच्छिउँबिना पनि सर्छ
हालै प्रकाशित अनुसन्धानात्मक लेखको नतिजा अनुसार फ्लुको भाइरस सर्नका लागि हाच्छिउँ वा खोक्नैपर्ने जरुरी नहुने देखाएको छ। अर्थात्, संक्रमित व्यक्तिले सामान्य श्वासप्रश्वासबाट पनि फ्लुको भाइरस सर्ने गर्छ। तर, फ्लु संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा भने सर्ने सम्भावना अत्यधिक हुने गर्छ।
३) कुन रक्तसमूहलाई बढी जोखिम?
अनुसन्धानकर्ताहरुले फ्लुले रक्तसमूह 'बी' र 'ए बी' भएकालाई बढी आक्रमण गर्ने गरेको पाएका छन्। फ्लु सम्बन्धी जटिलताले यी रक्तसमूह भएकाहरुलाई बढी सताउँछ। फ्लु भाइरस रक्तसमूह 'बी' भएका मानिसको शरीरमा ५ महिनासम्म पनि रहन सक्ने अनुसन्धानमा देखिएका छन्।
४) फ्लु संक्रमण भएमा हृदयघातको जोखिम ६ गुणा बढी!
क्यानडाका वैज्ञानिकहरुले फ्लु संक्रमण भएको पहिलो साता हृदयघातको जोखिम ६ गुणाले बढ्ने विश्वकै प्रतिष्ठित जर्नल 'न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन'मा प्रकाशित गरेका छन्। तर, पहिलो सातापछि यसको जोखिम बढ्दै नजाने उल्लेख गरिएको छ।
५) हँसिलो मुद्रामा फ्लुको खोप लगाए खोपले राम्रो काम गर्ने!
बेलायती वैज्ञानिकहरुले खोप लगाउने समय खुसी अनुभूति गरेमा खोपको प्रभावकारिता दुई गुणाले बढ्ने प्रमाणित गरेका छन्। खोप लगाउनुअघि रमाइलो संगीत सुन्ने, सकारात्मक सोच राख्ने, हास्यप्रधान चलचित्र हेर्ने गरेमा रमाइलो महसुस भएर खोप एकदम प्रभावकारी हुने उपाय सुझाइएको छ। ज्येष्ठ नागरिकहरुमा खोपको प्रभावकारिता सधैं कम देखिने भएकाले यो उपाय उनीहरुका लागि अझ उपयुक्त हुनेछ।
स्रोत: विभिन्न अनुसन्धानात्मक लेखहरु
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका
संयोजक हुन्।)