रामपुर, पाल्पा- जिल्लाकै विकट र दुर्गममा पर्ने निस्दी गाउँपालिका वडा नं १ सहलकोटमा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट एक सय ४१ जनाले सेवा लिएका छन्।
शनिबार सम्पन्न शिविरमा आँखा परीक्षण गराएका एक सय ४१ मध्ये १४ जनामा मोतियाविन्दुका बिरामी फेला परेको कालीगण्डकी आँखा उपचार केन्द्रका प्राबिधिक सुन्दर रानाले बताए। शिविरका अवसरमा आँखाका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ।
जनविकास परिचालन केन्द्र नेपालको आयोजना, रामपुर बचत तथा ऋण सहकारी संस्थाको सहयोग र कालीगण्डकी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर चलेको हो । गाउँमै आँखा जाँच गर्ने सेवासुविधा तथा औषधि उपचार पाएपछि यहाँका स्थानीयवासी खुशी भएको स्थानीयवासी प्रेम बाकाबलले बताए। रासस