रुपन्देही – रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्यका दृष्टिले निकै पछि देखिएको छ । रुपन्देहीलाई ‘स्वास्थ्य हब’ बनाउने नारा दिइएपनि सार्थक बन्न सकेको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटबलले जिल्ला जनस्वास्थ्य कार्यालय सुआहारा तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कर्मचारीको सहयोगमा गरेको अनुगमनमा स्वास्थ्य तथा सरसफाईमा प्रगति शुन्यजस्तै देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीकी मिना पन्थीका अनुसार नगरपालिकाका अधिकांश बालबालिकाको उमेरअनुसारको तौल नबढेको पाइएको छ । ‘नगरपालिकाको वडा नम्बर ४ का ५ जना बच्चा हेरें, कसैको पनि उमेरअनुसार तौल बढेको पाइएन,’ उनले भनिन् । प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका भएपनि बालबालिकाको स्वास्थ्यप्रति ध्यान नदिएको उनले बताइन् । यसमा जिल्ला जनस्वास्थ्यको ध्यान जानु आवश्यक रहेको उनको भनाई छ । उक्त वडाका अभिभावकले बालबिटासमेत नदेखेको बताएको उनले बताइन् ।
सुआहारा रुपन्देहीकी श्रृजना पन्थी संस्थाले स्वास्थ्यकर्मीलाई तालिम दिएको र उनीहरुले अब चेतना नपुगेको स्थान पहिचान गरी काम गर्ने बताइन् । जिल्लाका १६ स्थानीय तहमध्ये अन्य १५ वटा खुल्ला दिसामुक्त भइसकेपनि यही नगरपालिकाकै कारण जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिएको जनाइएको छ।
नगरपालिकाका मेयर मनमोहन चौधरीले खुल्ला दिसामुक्त बनाउन शौचालय बनाउन बाँकी सबै वडामा तीब्र रुपमा काम भइरहेको जनाएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटबलका इन्जिनियर ध्रुब धितालले लुम्बिनीमा आउने पर्यटकमा पनि गलत सूचना जानेहुँदा छिटो खुल्ला दिसामुक्त बनाउनुपर्ने र कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए।