तेह्रथुम- तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन्। फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ वर्षीया मेनुका खनाल कार्कीले बिहिबार तीन बच्चा जन्माएकी हुन्।
सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए। सात महिना १२ दिनमै जन्मिएका तीन वटै बच्चाको तौल कम छ। तौल कम भएका कारण उनीहरुको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ। अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले जानकारी दिए।
पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ। सामान्य अवस्थाको बच्चाको तौल औसतमा २.५ केजी हुन्छ।
बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्याउनु जरुरी हुन्छ। बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए।
संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन्। रासस