चितवन- संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । संघ टे«ड युनियनमा दर्ता भएपछि प्रथम भेला आयोजना गरिएको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए।
भेलामा सातवटै प्रदेशका एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो । देशभरका एम्बुलेन्स चालकहरुलाई संगठित गराउने र उनीहरुको हक हितका लागि काम गर्ने उद्देश्यले संघलाई आधिकारिक रुपमा टे«ड युनियनमा दर्ता गराइएको अध्यक्ष लामिछानेले बताए।
भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियन आवश्यकता रहेको भन्दै देशभरका एम्बुलेन्स चालकहरु संगठित भएकोमा बधाइ दिए।
विशिष्ट अतिथि नेकपा एमाले निर्वाचन क्षेत्र २ का संयोजक तथा जिल्ला सचिवालय सदस्य नारायणप्रसाद अधिकारीले अति संवेदनशील पेशाका रुपमा रहेका एम्बुलेन्स सेवालाई थप विस्वसनिय र स्तरीय बनाउनुपर्ने बताए ।
आफ्नो सेवा क्षेत्र भन्दा बाहिर गइ विभिन्न एम्बुलेन्स चालकहरुबाट अमर्यादित काम भएको टिप्पणी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अनुशासित भइ काम गर्न आग्रह गरे । मादक पदार्थ सेवन, विभिन्न अवैध वस्तु ओसारपसार र भनेको समयमा सेवा नदिने भनी पछिल्लो समय एम्बुलेन्सप्रति जनगुनासो बढ्दै गएको टिप्पणी गर्दै प्रनि पन्तले गाडी, चालक सवै सधै चुस्त दुरुस्त हुनुपर्ने बताए।
पन्तले एम्बुलेन्सका लागि निश्चित पार्किङ क्षेत्र, तीन अंकको आकस्मिक टेलिफोन सेवा, पोशाक र जीपीएस जडान समेत आवश्यक रहेको बताए।
कार्यक्रममा पुष्पाञ्जली हस्पिटल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले पेशाप्रति कर्तव्यनिष्ठ भइ अघि बढ्न सुझाव दिए।
अध्यक्षमा लामिछाने
भरतपुरमा शनिबार सम्पन्न संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम भेलाले केन्द्रीय अध्यक्षमा नवराज लामिछानेलाई सर्वसम्मत चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा ढुण्डराज मैनाली, उपाध्यक्षमा ठाकुर सापकोटा, महासचिव मुक्ति काफ्ले, सचिव दिपक थापा, कोषाध्यक्ष यदुनाथ भण्डारी रहेका छन्।
संघको सदस्यहरुमा दिनेश योञ्जन, शिवप्रसाद वजगाई, तुलसी वि.क, शैलेन्द्र थापा र गोपी ब्लोन रहेका छन् । केन्द्रीय कमिटिलाई पूर्णता दिइ प्रदेश अनुसार र जिल्ला तहमा पनि संगठनको विस्तार गरिने महासचिव मुक्ति काफ्लेले बताए।