प्यूठान– जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदी सम्मानित भएका छन्।
प्यूठानको जेठो संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको ३९ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले प्रशंसा पत्रले सुवेदीलाई सम्मान गरेका थिए।
जिल्लाको जनस्वास्थ्य कार्यालयबाट प्रदान गरिने कार्यक्रम, सेवाको उत्कृष्ट सम्पादन, जिल्लास्थित विषयगत सरकारी एबम् गैर–सरकारी कार्यालयसँगको कुशल समन्वय, जिल्लाका सबै सरोकारवाला निकायहरुसँग निरन्तर सहकार्य लगायत स्वास्थ्य मन्त्रालय र सेवा विभाग एवं तालुक निकायबाट प्राप्त कार्यक्रम र लक्ष्य पूरा गरि राष्ट्रकै तेस्रो र पाँच नम्बर प्रदेशको उत्कृष्ट कार्यालय बनाउन सफल भएको भन्दै सुवेदीलाई सम्मान गरिएको हो।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच दुर्गम बस्ती, दुरदराजमा रहेका वडाहरुमा पहुँच बढाउन जनस्वास्थ्य प्रमुख सुवेदीले राम्रो भूमिका खेल्दै आएका छन्।
संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा सम्मान पत्र ग्रहण गरेपछि यो हौसला र मायाले अझै प्रभावकारी रुपमा कार्यसम्पादनमा प्रेरणा मिलेको बताएका छन्। आगामी दिनमा सबै पक्षसँग सहकार्य गरेर काम गर्ने सुवेदीले प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।
संबिधानले दिएको नागरिकको स्वास्थ्य अधिकारलाई ग्यारेन्टी गर्न स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने उनले धारणा ब्यक्त गरे। कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गरेको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा कार्यरत डा. समाज अधिकारी र धरमपानी स्वास्थ्य चौकी मल्लरानी ३ प्यूठानकी महिला स्वास्थ्य स्वयंसेविका ललिता केसी समेत सम्मानित भएका छन्।
जनस्वास्थ्य कार्यालय प्यूठान छैठौं स्वास्थ्य दिवसको अवसरमा देशैभरिका स्वास्थ्य कार्यालय मध्ये उत्कृष्ट तेस्रो र पाँच नम्बर प्रदेशको पहिलो स्वास्थ्य कार्यालयको रुपमा यसै बर्ष सम्मानित भएको छ।