जुम्ला- जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले हाल प्रवाह गरिरहेको सेवा वारेमा पत्रकारहरुलाई अभिमुखीकरण गरेको छ । स्वास्थ्य सेवा वारेमा जानकारी नहुँदा सञ्चारकर्मीलाई रिर्पोटिङमा समस्य पर्ने गरेको भन्दै स्पष्ट सन्देश प्रवाहको लागि पत्रकारहरुलाई अभिमुखीकरण गरिएको हो।
स्वास्थ्य कार्यालयवाट सञ्चालित परिवार स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, खोप, वाल स्वास्थ्य कार्यक्रम, सुनौला हजार दिन र कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमका वारेमा सहजीरकरण गरिएको हो। परिवार स्वास्थ्य सुपरभाईजर रविन्द्र भण्डारीले धेरै वच्चा जन्माउने प्रवृत्तिको अन्त्य गरि गुणस्तरिय जीवन निर्वाह गर्न परिवार स्वास्थ्य कार्यक्रमले सघाउ पुर्याएको बताए।
जिल्लाका तिस वटै स्वास्थ्य संस्थामा यो कार्यक्रम लागु भईरहेको छ । कण्डम, पिल्स र डिपो जिल्लाका सवै स्वास्थ्य संस्थामा पाउने गरेपनि लामो प्रकृतिका अस्थायी साधन आयुसिडी र ईमप्लान्ट १७ वटा स्वास्थ्य संस्थामा मात्र पाईन्छ । परिवार स्वास्थ्य कार्यक्रम अन्र्तगत पुरुष वन्ध्याकरण शिविर सञ्चालन भईरहेका छन । स्वास्थ्य कार्यालयको तथ्याङ अनुसार गत वर्ष २ सय १४ जनाले वन्ध्याकरण गरेकोमा यो वर्ष २ सय १० जनाको लक्ष राखिएको छ । फागुन २५ देखि चैत १५ गते सम्म पुरुष वन्ध्याकरण शिविर वस्ने गरि कार्यतालिका बनाइएको छ।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत शिशु मृत्युदर र मातृमृत्युदर घटाउने कार्य भईरहेको आमा सुरक्षा कार्यक्रम सुपरभाईजर हिमाली खत्रीले जानकारी दिइन । उनका अनुसार जिल्लाका २० वटा वर्थिङ सेन्टरमा यो कार्यक्रम लागु भईरहेको छ।
खोप सुपरभाईजर महेश वुढाले खोपको सवै जिम्मेवारी स्थानीय तहमा गइसकेकोले स्वास्थ्य कार्यालयले समन्वय र तालिमको भुमिकामा काम गर्दै आएको बताए।
भ्याक्सीन स्टोर जिल्लामै मात्रै रहेकोमा अहिले कनकासुन्दरीमा पनि हस्तान्तरण गरिसकिएको छ । जुम्लामा खोपको अवस्था राम्रो छ । काम गर्न पनि सहज र जनशक्ति पनि फुलफिल नै रहेकोले काम गर्न कुनै कठिनाई छैन । उनका अनुसार यो आर्थिक वर्ष भित्र जुम्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य छ।
वालस्वास्थ्य कार्यक्रमका संयोजक किरण शर्माले जिल्ला भरीका स्वास्थ्य संस्थाको अनुगमन गरि ५ वर्ष मुनिका वच्चाको उपचार गर्दै आएको बताए । उनका अनुसार जुम्लामा सामुदायीक स्वास्थ्य इकाई १० वटा, प्राथमिक स्वास्थ्य केन्द्र १ र ३० वटा स्वास्थ्य संस्था गरेर २१ वटा स्वास्थ्य संस्था छन्।
यस्तै सुनौला हजार दिन कार्यक्रम जिल्लाका १० वटा साविकका गाविसमा लागु गरिएको छ । वच्चा र आमाको व्यवहार परिवर्तनका लागि यो कार्यक्रम लागु भएको सुनौलो हजार दिन कार्यक्रमका जिल्ला संयोजक धर्मराज शाहीले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदवहादुर शाहीले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले गरेका क्रियाकलापले समुदाय स्तरमा परिवर्तन ल्याएको बताए।