रत्ननगर – पूर्वी चितवनको रत्ननगर अस्पताललाई तीनटा डाइलासिस मेसिन सहयोग प्राप्त हुने भएको छ । सो अस्पतालाई रोटरी क्लव अफ सिमोदाते जापानका सदस्य काजुओ आराईले तीनटा डाइलासिस मेसिन सहयोग गर्ने भएका हुन्। एक महिनाभित्र अस्पतालाई तीनटा मेसिन हस्तान्तरण गर्ने गरी काजुओ आराईले अस्पतालका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ र अस्पतालका प्रमुख डा.अजय न्यौपानेलाई सहयोग पत्र हस्तान्तरण गरेका छन्।
चितवनमा रहेका रोटरी क्लव अफल चितवन, रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लव अफ रत्ननगर,रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ नारायणी मिट टाउन र रोटरी क्लव अफ गैंडाकोटको आग्रहमा जापानी नागरिक काजुओ आराईले अस्पताललाई डाईलासिस मेसिन सहयोग गर्ने भएका हुन्।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगर नगरपालिकाको कार्यपालिकाको वोर्डले सो अस्पताललाई ५१ शैयाको बनाउने निर्णय गरेको जानकारी दिए। त्यसका लागि आवश्यक पूर्वाधार निर्माण र डाक्टरको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरिएको बताए।
रत्ननगर अस्पतालमा २०७२ सालबाट मिर्गौला उपचार केन्द्र सुरु गरिएको अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले बताए । अस्पतालमा अहिले ६ वटा डायलासिस मेसिन रहेको र बिरामीको चापलाई अनुसार त्यो अपुग भएको उनी बताउँछन्। कार्यक्रममा रोटरी क्वलका एसिस्टेन्ट गर्भनर राजेन्द्र कुमार श्रेष्ठ, ६ वटै क्वललका अध्यक्ष तथा प्रतिनिधिहरु, रत्ननगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा रत्ननगरका व्यवसायी गोपालराज कर्माचार्य, वडा नं.१० का वडा अध्यक्ष केशव आचार्यलगायतको सहभागिता रहेको थियो ।