भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन्। शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । मृतकको शवपरीक्षणका लागि धनगढीबाट चिकित्सक बोलाउने र घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरी छानबिन गरिदिन प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।
एक साताअघि महाकाली अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरेकी सार्कीलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार राति अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारमा रहेकी सार्कीको शनिबार बिहान मृत्यु भएपछि मतृकका आफन्त आक्रोशित बनेका थिए। रासस