जुम्ला- सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत जुम्लाका आमाहरु उच्च निगरानीमा छन् । जिल्लाका साविकका १० वटा गाविसका १ सय २९ जना आमा निगरानीमा रहेका हुन। उनीहरु गर्भ रहेदेखि वच्चा दुई वर्षसम्म नपुगुन्जेल नियमित रेखदेखमा रहेको सुनौलो हजार दिन सञ्चार अभियान जुम्लाका संयोजक धर्मराज शाहीले जानकारी दिए।
उनका अनुसार साविकका वड्की, कालिकाखेतु, महावैपातरखोला, घोडेमहादेव, रारालिही, कुडारी, तातोपानी, तलिउम, गज्र्याङकोट र छुमचौर गाविसका महिला निगरानीमा छन्। निगरानीमा रहेका आमा तथा बच्चको चेकलिष्ट बमोजिम हरेक महिना अनुगमन हुन्छ ।
नियमित गर्भजाँच, आईरन चक्की सेवन, प्रसुति केन्द्रमा चेकजाँच, सुत्केरी आमा र बच्चाको जाँच, नियमित बच्चाको तौल, पोषणको अवस्था, जन्मदर्ता, जन्मान्तरको बारेमा सचेतीकरण, परिवार नियोजनका साधनको प्रयोग र नियमित खोप लगाए नलगाएको बारेमा निगरानी राखिन्छ।
२०७३ कात्तिक महिनादेखि जुम्लामा सुनौलो हजार दिन सञ्चार अभियान शुरु भएको हो। आमा समुह, बालक्लब, कृषि समुह, नागरिक सचेतना केन्द्रलाई मासिक रुपमा खाद्य सुरक्षा, पोषण र स्वास्थ्य सरसफाईका वारेमा सचेतना कक्ष सञ्चालन हुदै आएको छ।