पोखरा- १०८औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरामा अन्तर्राष्ट्रिय महिला स्वास्थ्य सम्मेलन हुने भएको छ।
महिला सबैभन्दा पहिला स्वस्थ रहनु विकासको पहिलो खुड्किलो हो भन्ने उद्देश्यका साथ यो वर्ष महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सम्मेलन आयोजना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले बताइन्। हरेक क्षेत्रको विकास सँगसँगै महिलाको प्रजनन स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण पाटो रहेको उनको भनाइ छ।
सम्मेलनमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी महिनावारी समस्याका बारेमा छलफल तथा व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण हुनेछ।
महिनावारी हुँदा विद्यार्थी, शिक्षिका, कानुन व्यवसायी, स्वास्थ्यकर्मी र ट्रेकिङ गाइडले भोग्नुपर्ने समस्याका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ।
अमेरिकी संस्था ब्याक प्याकिङ फर बेटी संस्थाका संस्थापक काराले आफ्ना बुबा महिला सम्बन्धी रोगको बिशेषज्ञ रहेको आफूले महिला स्वास्थ्यबारे बुझ्दै आएको भन्दै नेपालमा महिनावारी समस्यालाई दर्दनात्मक रुपमा देखेकाले यसै क्षेत्रमा सहयोग गर्न मन लागेको बताइन्। नेपाल भ्रमणमा मानव स्वास्थ्य केन्द्रित विषय जटिल अवस्थामा रहेकाले सो क्षेत्रमा योगदान गर्ने इच्छा पनि उनले जाहेर गरेकी छन्।
फागुन २५ मा हुने सम्मेलनमा पोखराका सरकारी तथा निजी गरी २५ विद्यालयका विद्यार्थीको तह छनोट गरी करिब ६० जना र अन्य जिल्लाबाट विद्यार्थी र शिक्षक सहभागी हुनेछन्। सम्मेलनमा 'बेचिएकी' नामक वृत्तचित्र लगायत महिला हिंसाविरुद्ध चेतनामूलक प्रस्तुतीकरणसमेत आयोजना गरिने महिला सशक्तीकरण नेपालकी अध्यक्ष डिक्की कार्कीले बताइन्।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान), महिला सशक्तीकरण नेपाल, थ्री सिस्टर एड्भेन्चरर्स ट्रेकिङ, नेपाल स्टडीइ युनिभर्सिटी अफ मेक्सिको र रोटरी क्लब अफ पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा र ब्याक प्याकिङ फर बेटी संस्थाको सहयोगमा सम्मेलन हुने भएको हो।