काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने भएको छ।
देशका विभिन्न २१ जिल्लामा सञ्जाल विस्तार गरेको उक्त समाजले सम्बन्धित जिल्लाबाट १०५ प्रतिनिधि, पर्यवेक्षक, सरोकार पक्षलगायत करिब १०० जना गरी २०० भन्दा बढिको सहभागितामा महाधिवेशन गर्न लागेको हो।
छरिएर बसेका रक्तदातालाई एकताबद्ध गरी रक्तदानसम्बन्धी जनचेतना फैलाउने विषयमा महाधिवेशनमा छलफल गरिने समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए। अध्यक्ष कर्माचार्यले अहिलेसम्म १५३ पटक रक्तदान गरिसकेका छन्।
रक्तदाताले निःशुल्क गरेको रक्तदानलाई पीडितसम्म पनि निःशुल्क उपलब्ध गराउनका लागि अन्तक्र्रिया, सुझाव संकलन गर्नेछ । सर्वसाधारणले निःशुल्क वितरण गरिएको रगत निजी क्षेत्रले बिक्री गरिरहेको विषयमा समेत छलफल गरी व्यवस्थापनलाई कारबाहीका लागि माग गरिनेछ।
यसपटक महाधिवेशनको नारा ‘कम्तीमा एक परिवार, एक स्वयंसेवक रक्तदाता अभियान’ भन्ने रहेको छ । विसं २०६२ माघ १५ गते स्थापना भएको समाजको महाधिवेशनद्वारा नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ। रासस