रामपुर, पाल्पा- गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत गराउँदै सडक नाटक प्रदर्शन गरिएको छ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सो नाटक प्रदर्शन गरिएको हो। प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतनका विषयमा सडक नाटक देखाइएको हो। यस नाटकले महिलामा सुरक्षित गर्भपतन गराउने तरिका, समय, असुरक्षित गर्भपतनले निम्त्याउने जोखिम लगायतका विषयमा जानकारी लिने अवसर मिलेको स्थानीयवासी रामप्रसाद भण्डारीले बताए।
नाटक प्रदर्शनीका अवसरमा यहाँका स्थानीयवासी र महिलाको बाक्लो उपस्थिति रहेको थियो । नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा उक्त नाटक प्रदर्शनी गरिएको हो। रासस